समाचार

    निर्वाचनको तयारी तिव्र,मतदाता परिचय पत्र बितरण गरिदै

    दाङ,१९ मंसीर
     
    निर्वाचन केन्द्रमा पुगेका कर्मचारीहरुको मंसिर २१ को चुनावको तयारीमा जुटेका छन् । 
    नेपाल प्रहरीको कडा सुरक्षाका बिच मतदान अधिकृत सहितका कर्मचारीहरु मतपत्र र अन्य निर्वाचनका ६४ प्रकारका सामाग्रिहरु लिएर मतदान केन्द्रमा पुगेका छन् । 
    उनीहरुले मूख्य निर्वाचन कार्यालयबाट बितरण गरिएका निर्वाचन सम्बन्धि आबश्यक सामाग्री ब्यबस्थापन गर्ने कार्यमा उनीहरु जुटेका    हुन । 
    सुरक्षाकर्मीहरुको सहयोगमा मतदान केन्द्रको सुरक्षा ब्यबस्था,स्थानीय तहको समन्वय,राजनीतिक दल लगायतको सहयोगमा मतदान केन्द्रको तयारी भईरहेको छ । केन्द्रमा पुगेका सबै मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहितका कर्मचारीले आज मंगलबारदेखि मतदाता परिचय पत्र समेत बितरण गरिरहेका छन् । भोली बुधबार सम्म परिचय पत्र बितरण गरिने मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।स्थानीय तहको निर्वाचनभन्दा यसपटक दाङमा ४७ हजार ७ सय ३९ मतदाता बढी थपिएका छन् । स्थानीय तहको निर्वाचनमा दाङमा कुल मतदाता संख्या दुई लाख ९१ हजार एक सय ७५ थियो भने  यसपटक ३ लाख ३८ हजार नौ सय १४ पुगेको छ ।१ लाख ११ हजार ९६ जना मतदाता रहेको क्षेत्र नम्बर १ मा ५० मतदान स्थलमा १ सय २९ मतदान केन्द्र तोकिएको छ । १ लाख ८ हजार ८ सय ७० जना मतदाता रहेको क्षेत्र नम्बर २ मा ४८ मतदान स्थल र १ सय २८ मतदान केन्द्र र १ लाख १८ हजार ९ सय ८७ मतदाता रहेको ३ नम्बर क्षेत्रमा ५३ मतदान स्थल भित्र १ सय ३७ मतदान केन्द्र रहेका मूख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । दाङका १ सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्रका लागि ३ हजार भन्दा बढी कर्मचारी र ४ हजार १ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । मंसीर २१ गतेका लागि महिलाहरु मात्र खटिएका बालकल्याण आधारभूत बिद्यालय घोराही उपमहानगरपालिका वडा नम्वर ११ खैरा र गोरक्ष रत्ननाथ माबि चौघेरा (क)मा महिलाहरुबाट निर्वाचनको तयारी भई रहेको छ । दाङका १ सय ५१ मतदान स्थलका ३ सय ९४ मतदान केन्द्र मध्ये यी दुई निर्वाचन केन्द्रमा महिलाहरुलाई खटाइएको हो । दुईवटै निर्वाचन केन्द्रमा महिला कर्मचारीको नेतृत्व छ । समाबेशीतालाई ध्यानमा राख्दै जिल्लाका यी दुई मतदान केन्द्रमा महिला खटाइएको मूख्य निर्वाचन कार्यालयले जनाएको छ  । गोरक्ष रत्न माबि चौघेरामा लक्ष्मी सैजु मतदान अधिकृत र ईच्छा महत सहयाक मतदान अधिकृत हुनुहुन्छ । बाल कल्याण आधारभूत बिद्यालय (ख) लक्ष्मी ढकाल मतदान अधिकृत र प्रतीज्ञा पुन सहायक मतदान अधिकृत हुनुहुन्छ । उक्त मतदान केन्द्रमा सुरक्षाकर्मी पनि सबै महिला रहेका मूख्य निर्वाचन अधिकृत हेमन्त रावललले जानकारी दिनुभयो ।बिहीबार हुन लागेको चुनावको मतगणना दुई दिनभित्र सक्ने गरी दाङमा तयारी थालिएको छ । यस पटकका जिल्लाको सबै मतगणना घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा गरिनेछ । विद्यालयमा रहेका तीन अलग–अलग भवनमा मतगणना गरिने भएको छ । प्रत्येक भवनमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि अलग–अलग तीन ठाउँमा गणनाको व्यवस्था गरिएको छ ।मतगणना स्थलको व्यवस्थापनसँगै मतगणना हुने स्थानमा सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, वाइफाईलगायतको सम्पूर्ण तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।प्रतिनिधिसभाका ३ वटा र प्रदेशसभाका लागि ६ वटा क्षेत्र रहेको दाङमा एक निर्वाचन क्षेत्रको तीन स्थानमा गणना गर्ने तयारी भइरहेको छ । बिहीबार बेलुका सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर त्यसै दिनको रातिबाट मतगणना थाल्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको हो ।मतगणना सुरु भएको ४८ घण्टा अर्थात दुई दिनभित्र सबै परिणाम सार्वजनिक गर्ने गरी आफूले तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal