समाचार

    ईजलासको अभावका कारण न्यायिक समितिले गतिलिन सकेन्

    दाङ,२२ बैशाख 
     
    स्थानिय तहमा गठन गरिएका न्यायिक समितिमा ईजलासको ब्यबस्था नहुदा न्याय सम्पादनमा समस्या भएको छ । स्थानिय तहका उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने ब्यबस्था छ । गत असारमा सम्पन्न स्थानिय तहको निर्वाचन पछि साउन महिनमा गठन हुनुपर्ने न्यायिक समिति झण्डै ६ महिना पछि अर्थात माघ महिनादेखि गठन भएका थिए । न्यायिक समितिको कार्यबिधि लगायतका ऐन कानुन निर्माण हुन नसक्दा ढिला गरि समितिले न्याय सम्पादन शुरु गरेको थियो । तर ईजलासको अभावका कारण न्याय सम्पादनमा समस्या भएको तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका संयोजक माया आचार्यले जानकारी दिनुभयो । हाल आफ्नै कार्य कक्षमा बिबादलाई समाधान गर्ने गरिएको छ । कार्यकक्षमा बिबिध कारणले समस्या आउने गरेको आचार्यको भनाई छ । छुट्टै हलको ब्यबस्था भए न्याय सम्पादनमा सहजता हुने उहाले बताउनुभयो । अब न्यायिक समितिकोे प्रयोजनका लागि भवन बनेपछि एक हप्तामा ३ दिन न्यायिक समितिमा दर्ता भएका निवेदनमा छलफल गराउने योजना रहेको पनि उहाले बताउनुभयो । आजभोली निवेदनहरुमाथि छलफल गर्न नपाउदा निवेदनको चाप भएका कारण छलफल गराउनमा ढिलासुस्ती भएको छ । अबको १०÷१२ दिनमा भवन बनेपछि निवेदनहरु तीव्र गतिमा छलफल गराउने उहाँको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाको  न्यायिक समितिमा हालसम्म ४१ वटा बिभिन्न किसीमका बिबादीत निबेदन दर्ता भएका छन् ।गत माघ महिनादेखि हालसम्म ४१ वटा निवेदन दर्ता भएको न्यायिक समितिकी संयोजक तथा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख आचार्यले जानकारी दिनुभयो । सम्बन्ध विच्छेद,जग्गा विवाद, घरेलु हिंसा,कुलोपानी, लेनदेन, बाटो विवाद जस्ता बिबाद ४१ वटा निवेदन दर्ता भएका छन् । ४१ वटा निवेदन मध्य ९ वटा निवेदनमा छलफल गरी अन्तिम चरणमा रहेको र टुङ्गो लगाउन मात्र बाँकी रहेको समितिकी संयोजक आचार्यले बताउनुभयो । उक्त समितिमा जग्गा विवाद तर्फ १८ वटा निवेदन दर्ता भएकोमा ४ ओटा छलफलको अन्तिम चरणमा रहेका छन् भने १४ वटा निवेदन विचाराधिन छन् । यस्तै सम्बन्ध बिच्छेदका निवेदनहरु ६ ओटा रहेकोमा २ वटा निवेदनलाई छलफल गरी प्रक्रिया अनुसार जिल्ला अदालत पठाइएको छ ।उहाका अनुसार ४ वटा सम्बन्ध विच्छेदका निवेदन छलफल गर्न बाँकी रहेका छन् । यस्तै घरेलु हिंसा तथा कुट्पिटका ८ वटा निदेदन दर्ता भएकोमा ३ वटा छलफलको अन्तिम चरणमा पुगेको र ५ वटा निवेदन छलफल गर्न बाँकी रहेको बताउनुभयो । यस्तै कुलो पानीका २ वटा निवेदन न्यायिक समितिमा दर्ता भएका छन् भने बाटो विवादका २ वटा निवेदन दर्ता भएको संयोजक आचार्यले जानकारी दिनुभयो ।  
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal