बिश्व राजनीतिमा अमेरिकी राष्ट्रपतीय निर्वाचन बहस : ट्रम्प र बाइडेनबीच कडा सवालजवाफ

अमेरिकी राष्ट्रपति निर्वाचन यही वर्षको नोभेम्बरमा हुँदैछ। ‍वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन यसपटक राष्ट्रपति दौडमा होमिएका छन्। हरेक राष्ट्रपति निर्वाचनअघि राष्ट्रपति पदका उम्मेदवारहरुबीच प्रेसिडेन्सियल डिबेट हुनेगर्छ। विश्वभरको ध्यान त्यही डिबेटमा रहन्छ। यसपटको प्रेसिडेन्सियल डिबेट मंगलवार राति भयो। उक्त बहसमा दुवै प्रतिद्वन्द्वीहरुले आआफ्नो योजना प्रस्तुत गरे। एकअर्काविरुद्ध खुलेरै बोले। बहसका बीचबीच रुखो सुनिएका ट्रम्प र बाइडेनबीचको डिबेटलाई इतिहासकै नराम्रो डिबेटका रुपमा समेत अर्थ्याइएको छ। बाइडेनले वर्तमान राष्ट्रपतिलाई अमेरिकी इतिहासकै असफल राष्ट्रपतिमात्र भनेनन् ट्रम्पलाई जोकर र झुठो बोल्ने व्यक्तिसमेत भने।

बहसका क्रममा आफू बोलिरहँदा ट्रम्प बोलेपछि बाइडेनले ट्रम्पलाई 'सटअप म्यान' भनेका थिए। त्यसबेलामा बाइडेन सर्वोच्च अदालतको बारेमा बोलिरहेका थिए। बाइडेनले निर्वाचनअघि सर्वोच्च अदालतको न्ययाधीशको रुपमा ट्रम्पले एमी कोनेको नाम प्रस्तावित गरेकोमा आपत्ति जनाउँदै उनले अदालतमा उनको नियुक्ती हुनु नहुने बताएका थिए। उनले अदालतमा न्यायाधीश निर्वाचनपछि मात्रै नियुक्त हुनुपर्ने मागसमेत राखे। यता ट्रम्पले भने आफूलाई राष्ट्रपतिका रुपमा संविधानले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने अधिकार भएको जवाफ दिएका थिए। निर्वाचनको आफ्नै प्रभाव हुने भन्दै ट्रम्पले आफूले नियुक्त गर्ने निर्णय गरे पनि अन्तिम निर्णय सिनेटले गर्ने कुरा बाइडेनले बिर्सिएको बताए। बाइडेनले ट्रम्प प्रशासन कोरोना नियन्त्रण गर्न असफल बनेको भन्दै अमेरिकामा २ लाख मानिसको मृत्यु भएको बताए।

बाइडेनले आफू राष्ट्रपति भएको भए स्वास्थ्यकर्मी र जनता बच्ने बताएपछि जवाफमा ट्रम्पले भने, 'बाइडेन राष्ट्रपति भएको भए अझ धेरै मानिस भाइरसबाट मरिसक्थे।' ट्रम्पले कोरोना नियन्त्रण गर्न आफूले उत्कृष्ट काम गरेकोसमेत दाबी गरे। बाइडेनले भाइरससँग लड्न ट्रम्पसँग कुनै योजना नै नभएको बताइरहँदा ट्रम्पले आउने केही समयमा नै भ्याक्सिन आउने अर्को दाबी गरे। केहीदिन अघिमात्रै ट्रम्पले कर छली गरेको समाचार द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो। त्यस विषयमा प्रश्न उठ्दा ट्रम्पले आफूले लाखौं डलर कर तिरेको र अडिट भइरहेको पुरानै जवाफ फर्काएका थिए। ट्रम्पले यसो भनिरहँदा बाइडेनले भने ट्रम्पले आफ्नै कार्यालयको अर्थ व्यवस्था सम्हालन नसकेको आरोप लगाए।

बाइडेनले महामारीको समयमा अरबपतिहरुले फाइदा उठाएको भन्दै कोभिड-१९ रहेसम्म अर्थ व्यवस्था राम्रो नहुने बताए। ट्रम्पले भने आफूले कहिलै देश र बजार बन्द गर भनेर नभनेको भन्दै बाइडेन राष्ट्रपति भएको भए पूरै देश बन्द हुने बताएका थिए। ट्रम्पले महामारीको समयमा अर्थ व्यवस्थालाई सम्हालेको दाबी गरे। बाइडेनले ट्रम्पको कार्यकालमा अश्वेतमाथि दमन बढेको र नश्लीय हिंसा बढेको आरोप लगाए। उनले राष्ट्रपतिले समुदाय विभाजित गर्ने भाषण दिने गरेको समेत बताए। जवाफमा ट्रम्पले बाइडेनले अश्वेतको विषयमा राजनीति गरेको आरोप लगाए।

''डेमोक्रेटको सरकारले त्यही त प्रयोग गरेको हो। बाइडेनको सोच नै खराब छ। तपाई मानिसहरुलाई भड्काइ रहनु भएको छ। म त्यसो हुन दिन्न।' ट्रम्पले पूर्व डेमोक्रेटिक राष्ट्रपति बाराक ओबामाको शासनकालमा बाइडेन उपराष्ट्रपति भएको इतिहास सम्झाउँदै त्यो बेला सबैभन्दा धेरै नश्लीय विभेद भएको दाबी गरे। 'तपाई त अश्वेतको कुरा पनि गर्नु हुन्थेन,' ट्रम्पले बाइडेन तर्फ इसारा गर्दै भने। आउने निर्वाचनमा मत दिन मानिसहरु डराइरहेको भन्दै बाइडेनले मतदानमा छेडछाड हुनसक्ने सम्भावना रहेको आरोप लगाए। 'हामी चाहन्छौं धेरै मानिसले मत देओस्। ट्रम्पले हारे उनले कुर्सी छाड्नै पर्छ,' बाइडेनले भने।ट्रम्पले भने एफबीआइका अधिकारीहरुले समेत आफूलाई त्यस्तै केही हुनसक्ने जानकारी दिएको बताए। भने, 'यो पालीको नतिजा आउन केही महिना नि लाग्न सक्छ। अदालतले पनि को जित्यो भनेर निर्णय गर्न सक्छ। यदि अदालतमा कोने नियुक्त भइन् भने हाम्रो पक्षमा ६-३  मत हुनेछ।'

प्रतिकृया दिनुहोस