दाङका २प्राबिधिक शिक्षालयमा ७ वटा बिषय थप हुँदै

तुलसीपुर बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रबाट ४ वटा नयाँ प्राविधिक विषय थप हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिको १ सय ८० औ सभाले आगामी शैक्षिक सत्रबाट बाली विज्ञान, फुड एण्ड डेरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ्ग विषय थप गर्ने प्रस्तावलाई पारित गरेको सिटिइभिटीले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।
बहुप्राविधिक शिक्षालयमा यो भन्दा अगाडी वन विज्ञान विषयको अध्यापन हुँदै आएको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षालयमा एलएलबी अध्यापनको समेत तयारी अगाडी वढेको कलेजका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
तुलसीपुरलाइ प्राविधिक शिक्षाकाे केन्द्रका रुपमा विकाश गर्नका लागि शिक्षालयकाे स्थापना गरिएकाे हाे ।  यस्तै ,सहिद कृष्णसेन इच्छुक नमूना बहुप्राबिधिक शिक्षालयमा तीन वटा कार्यक्रम थपिएका छन् ।
प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को १८०औं बैठकद्वारा तीन कार्यक्रम थपिएका हुन् ।
यसरी थप गरिएका कार्यक्रममा डिप्लोमा इन ल्याब टेक्नोलोजी, डिप्लोमा इन फिजियोथेरापी र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ रहेका छन् । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा बसेको परिषद् बैठकले सो निर्णय गरेको मन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले जानकारी दिनुभयो ।
यसअघिको परिषद् बैठकले डिप्लोमा इन डाइग्नोस्टिक रेडियोग्राफी कक्षा स्वीकृत गर्दै आवश्यक कारवाही अघि बढाउन परिषद् कार्यालयलाई अख्तियारी प्रदान गरेको थियो
। अहिले यो शिक्षालयमा फार्मेसी, वन विज्ञान, बाली विज्ञान, आर्किटेक्चर इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र फूड एण्ड डेरी टेक्नोलोजीको पढाइ भइरहेको छ । गत बर्ष स्वीकृति पाएको पशु विज्ञानको पनि यो बर्षदेखि पढाइ शुरु हुने छ ।
अहिले घोराही १७ गैरागाउँमा पाँच वटा भवन निर्माण भइरहेका छन् भने नारायणपुरमा पनि कार्यक्रम विस्तार गरेको छ । शिक्षालयको स्थापना २०७५ भदौ २८ गते भएको थियो ।
त्यस्तै सहिदस्मृति आवासीय माध्यामिक विद्यालयमा सिभिल इन्जिनियरिङ्ग कार्यक्रम थप गरेको छ ।
यो विद्यालयले आर्किटेक्चर इञ्जिनियरिङ गत बर्ष नै स्वीकृत पाइसकेको छ । पश्चिम नेपालका १५ जिल्लाका सहिदका सन्तानहरुले अध्ययन गरिरहेको यो विद्यालयले सहिदका सन्ततिलाई उच्च शिक्षातर्फ जोड्न यसअघि नै कक्षा १२ सम्मको पढाइ शुरु गरिसकेको छ भने अब प्राबिधिक शिक्षा पनि शुरु गर्न थालेको छ ।

प्रतिकृया दिनुहोस