अझै सूचारु हुन सकेन घोराही स्थित साझा स्वास्थ्य पसल, एकसातादेखि वन्द हुदा सर्वसाधारण मर्कामा

सरकारकै ६५ प्रतिशत स्वामित्व रहेको घोराहीको साझा स्वास्थ्य सेवाको औषधि पसल भने  एक सातादेखि बन्द छ, जवकी औषधि पसलहरु अत्यावश्यक सेवामा पर्दछन् । त्यसैले कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमा पनि औषधि पसलहरु खुल्लै राख्न सरकारले आग्रह गरेको छ । तर केन्द्र सरकार मातहतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको विवादपछि सेवा बन्द भएको छ  । लकडाउनको बेला साझा औषधि पसल बन्द भएपछि सस्तो दरमा अत्यावश्यक औषधि किन्नबाट बिरामी र तिनका आफन्त बन्चित भएका छन् । 

दाङ सदरमुकाम घोराहीमा पहिले ‘महेन्द्र अस्पताल’ थियो । अस्पतालसँग ०५५ मंसिर ७ गते भएको सम्झौताअनुसार साझाले अस्पताल कै भवनमा बिक्री कक्ष खोलेर सेवा सुरु गर्‍यो । सो अस्पताल राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नती भएपछि ०७३ देखि साझाले अस्पताल परिसरभित्र मूल गेटनजिकै आफ्नै लगानीमा भवन बनायो र त्यही भवनबाट औषधि उपकरण बिक्री गर्न थाल्यो । २०७४ साल असोजमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भयो । त्यसपछि प्रतिष्ठानले  आफ्नो जग्गामा भवन बनाएको भन्दै साझाको औषधि बिक्री कक्ष खाली गराउन भन्यो । जग्गा प्रतिष्ठानको भए पनि एक कोठे भवन साझाले आफ्नै लगानीमा बनाएको छ । देशभर अस्पतालले उपलब्ध गराउने जग्गामा साझाले आफ्नै खर्चमा औषधि बिक्री कक्ष बनाउने गरेको छ । घोराहीमा जग्गा प्रयोग गरेवाफत करसहित १ लाख २० हजार रुपैयाँ भाडा साझाले प्रतिष्ठानलाई तिर्दै आएको थियो । त्यसैले साझाले सो बिक्री कक्ष छोड्न मानेन । यही विवादबीच गत असार महिनादेखि प्रतिष्ठान र साझाबीचको सम्झौताको अवधि सकियो । पछिल्लोपटकको दुई वर्षे सम्झौता अवधि सकिएपछि पनि साझाले बिक्री कक्ष खाली नगरेको भन्दै प्रतिष्ठान जिल्ला अदालत पुग्यो । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले दुवै पक्षलाई मिलापत्र गर्न भने । तर प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले मानिनन् । अहिले साझा र प्रतिष्ठानबीचको मुद्दा जिल्ला अदालतमा बिचाराधीन छ । अदालतमा मुद्दा बिचाराधीन भएको बेला औषधि पसल बन्द हुनु दुःखद भएको साझा स्वास्थ्य सेवा शाखा कार्यालय दाङका प्रमुख बेलबहादुर पौडेलले वताए । 
'औषधि किन्नेहरुका लागि बनाइएका झ्यालहरु नै बन्द हुने गरी स्यानिटाइजिङ मेसिन राखिदिएकाले हाम्रो सेवा रोकियो पौडेलले भने,-'स्यानिटाइजिङ मेसिन राख्नका लागि प्रशस्त ठाउँ थियो, हाम्रा झ्याल नै बन्द गर्नुपर्ने थिएन ।’ 

साझा स्वास्थ्य सेवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेखेर पूर्ववत रुपमा सेवा प्रवाहको व्यवस्था गरिदिन अनुरोध गरेको छ । साथै स्वास्थ्य सेवा बिभाग टेकुलाई पनि पत्र लेखेर समस्या समाधानका लागि सहजीकरण गरिदिन साझा स्वास्थ्यको घोराही शाखाले आग्रह गरेको छ । हाल साझा स्वास्थ्य सेवाको अध्यक्ष नेकपाकै नेता गिरधारिलाल न्यौपाने छन् । अध्यक्ष न्यौपाने भन्छन्, ‘प्रतिष्ठानसँग सम्झौता नवीकरण गराउन सुरुमा हामी आफैंले पहल गर्दै आएका थियौं । भेटघाट, भनसुन सबै गर्‍यौं, तर गलत नियत नै राखेपछि के लाग्दो रहेछ र ।’ साझाले सिंहदरबारलाई गुहारेपछि सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल प्रतिष्ठानमै पुगेर स्थलगत निरीक्षण गरेका थिए । साझालाई अवरोध नगर्न प्रजिअ रिजालले आग्रह गर्दा प्रतिष्ठानबारे स्वास्थ्य मन्त्रालयमा गलत रिपोर्टिङ गरेको बात लागेको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरु बताउँछन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भने अस्पताल परिसरभित्र आफूलाई औषधि बिक्री कक्ष आवश्यक रहेकाले साझासँगको भाडा सम्झौता नवीकरण नगरेको बताउँछ । रजिष्ट्रार कैलाश देवले भने, ‘हाम्रै कम्पाउन्डमा सम्झौता गरेर बसेपछि त सम्झौता सकिएपछि त आफैं जानुपर्यो नि । नगएपछि के गर्ने त ?’ उनले प्रतिष्ठानलाई असहयोग गर्ने श्रृंखलाअन्तर्गत नै अहिले साझाको विषय उछालिएको दाबी गरे । ‘साझालाई औषधि बेच्न अहिलेकै ठाउँ किन चाहियो, अस्पताल बाहिर अर्को कुनै सटर लिएर बसे भइहाल्छ नि,’ उनले भने । साझा स्वास्थ्य सेवा घोराही शाखा प्रमुख बेलबहादुर पौडेलले भने पहिले पनि सम्झौता अवधि सकिइसकेपछि पनि नवीकरण हुने गरेको तर अहिले नवीकरण गर्न प्रतिष्ठानले नमानेको बताए । पौडेलले भने, ‘जेठसम्मको भाडा बुझाइसकेका थियौं । असार, साउन र भदौ तीन महिनाको एकैचोटी बुझाउन म असोज महिनामा चेक लगेर प्रतिष्ठानमा गएँ, उहाँहरुले असारसम्मको मात्रै बुझ्छौं भन्नुभयो । तर मैले चेक काटिसकेकाले लक्ष्मी बैंकको उहाँहरुको खातामा भदौसम्मकै भाडा जम्मा गरिदिएँ । पहिले पनि ढिलो नवीकरण हुँदै आएकाले यसपटक पनि होला भन्ने लाग्यो ।’ उनले थपे, ‘अहिले मैले असोजदेखि अहिलेसम्मको थप भाडाका लागि प्रतिष्ठानसँग लिखित चिठ्ठी मागेको छु । सम्झौता अवधि सकिइसकेपछि पनि भाडा किन तिरेको भनेर मैले संस्थामा जवाफ दिनुपर्छ, त्यसैले लिखित चिठी दिनुस्, बाँकी भाडा पनि तिर्छु भनेको हुँ ।’ दाङ जिल्लामा साझा स्वास्थ्य सेवाका घोराही, तुलसीपुर र लमहीमा गरी तीनवटा बिक्री कक्ष छन् । यी तीन शाखामा २२ जना कर्मचारीहरु कार्यरत छन् । घोराहीको बिक्री कक्ष बन्द भए पनि तुलसीपुर र लमहीबाट बिक्री जारी छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको घोराहीको बिक्री कक्षमा लाइफ सेभिङ ड्रगहरु सहित करिब ७० लाखको औषधि तथा उपकरणहरु रहेको शाखा प्रमुख पौडेल बताउँछन् ।

प्रतिकृया दिनुहोस