ताजा खबर :

समाचार

    के सबैलाई समान रूपले धनी बनाउन सकिन्छ?

    मुराहरि पराजुली /
    दुई–तीन वर्षअघि मेरा एक जना प्रकाशक मित्रले सोधेका थिए, ‘गरिबी र असमानतासम्बन्धी केही रोचक तथ्यहरू बताइदेउ त! आज एउटा बुक लन्चमा बोल्नुपर्नेछ।’
     
    ‘वेबमा खोजे जति पनि पाइन्छ नि! विश्व बैंकको रिपोर्ट हेर, अक्सफामको हेर,’ मैले सुझाएँ, ‘विश्व बैंकको अलि सुख्खा हुन्छ, अक्सफामको रसिलो हुन्छ– तिमीलाई भाषण गर्न ठिक्कको।’
     
    अघिल्लो साता अक्सफामको यस्तै रिपोर्ट सार्वजनिक भयो– ‘संसारका आठ जना धनाढ्यसँग मात्र साढे तीन अर्ब जनतासँग भए बराबरको सम्पत्ति छ। यसले धनी झन् धनी भए, गरिबलाई मार पर्यो।’
     
    अक्सफामले हरेक वर्षजसो यस्तै तथ्यसहितको रिपोर्ट निकाल्दै आएको छ, जसले मिडियामा राम्रै ठाउँ पाउँछ। यसपालि पनि पायो। कोही मान्छे अति धनी भएकाले धेरै मान्छे असाध्यै गरिब भएका छन् भन्ने भाव अक्सफामको रिपोर्टमा पाइन्छ। यो तथ्यसंगत छैन। यो असमानताले विश्वमा संकट ल्याएको छ र यसलाई रोकिनुपर्छ भन्ने उसको तर्क छ। धनीबाट खोसेर गरिबलाई दिने र समानता ल्याउने नाममा विभिन्न किसिमका कर सुझाइएको छ।
     
    समानता अवसरमा खोज्नुपर्छ, नतिजामा होइन। नतिजा कहिल्यै समान हुन सक्दैन। गरिबी र असमानता फरक कुरा हुन्। धनी बन्ने अवसर सबैलाई उपलब्ध हुनुपर्छ। यस्तो अवसरमा सबैको समान पहुँच बनाउने प्रयास गर्न सकिन्छ, तर सबैलाई समान किसिमले धनी बनाउन सकिँदैन।
     
    संसारमा गरिबी भजाउनेको कमी छैन। अक्सफामजस्ता थुप्रै संस्था छन्, बुद्धिजीवी, नेता, राजनीतिक दल र सरकारहरू छन्। तिनका लागि गरिबी र असमानता पक्कै पनि एक आकर्षक नारा हुन्। धेरैलाई यसले रोमाञ्चित बनाउँछ। ती सबै जना गरिबी असमानता निर्मूल गर्नुपर्छ भनेर थाक्दैनन्।
     
    गरिबी निवारण पक्कै राम्रो कुरा हो। संसारभर गरिबी क्रमिक रूपमा घटिरहेको पनि छ। उत्तर अमेरिका, पश्चिम युरोप र एसियाका केही विकसित मुलुकमा विश्व बैंकले परिभाषित गरेअनुसार ‘अत्यन्त गरिब’ को कोटीमा पर्नेहरू छैनन् भन्दा हुन्छ। दक्षिण अमेरिका, पूर्वी युरोप, सहारा उपक्षेत्रीय अफ्रिका र दक्षिण एसियामा भने गरिबहरू प्रशस्तै छन्। 
     
    समग्रमा विश्वभर सन् १९९० मा ३५ प्रतिशत मान्छे अतिगरिब थिए, २०१३ मा यो अनुपात १०.७ प्रतिशतमा झरेको छ। पहिले दुःखीनगरको चिनारी बनाएको चीनको सांघाई अहिले अमेरिकाको कुनै मेगासिटी भन्दा कम छैन। प्रत्येक दस वर्षमा भारतीयहरूको वास्तविक आम्दानी दोब्बर हुँदै गइरहेको छ। अफ्रिकामा आर्थिक विकासले गति लिन थालेको छ।
     
    एउटा सम्मानित जीवनयापनका लागि आवश्यक आधारभूत कुराहरू अहिलेका अतिविपन्न भनिएकालाई पनि उपलब्ध छ, जो हाम्रा पितापुर्खाका पालामा थिएन। पहिले जति मान्छेलाई पर्याप्त खान, लाउन र बस्न आश्रयको व्यवस्था थियो, अहिले त्योभन्दा धेरैले पाएका छन्। अहिले धेरैले भोट हाल्न पाउँछन्, प्रहरी प्रशासनले सजिलै कसैलाई हेप्न सक्दैन।
     
    तर, गरिबी र असमानता फरक कुरा हुन्। यी दुईलाई मिसाएर गलत निष्कर्ष निकालिन्छ, अनि गलत नीति सिफारिस गरिन्छ। त्यतिबेला हाम्रा समस्या घट्नेभन्दा बल्झिने गर्छन्। गरिबी निमिट्यान्न पार्न सकिएला, असमानतालाई सकिन्न। आर्थिक असमानता नैतिक रूपमा ठूलो समस्या होइन। गरिबले एउटा लोकतान्त्रिक समाजमा परिचालित हुन पर्याप्त अवसर पाउने र पूर्णरुपेण जीवनयापन गर्ने अवसर पाउनुपर्छ।
     
    धनको रवाफ अभद्र र झिझो लाग्ने हुनु स्वाभाविकै हो। तर यत्तिकै आधारमा इष्र्यावश सावजनिक नीति तर्जुमा हुनु हुँदैन। बृहत समाजमा न्यायपूर्ण, तर्कपूर्ण ढंगले आर्थिक समानता स्थापित गर्नु असम्भव छ। साथीभाइबीच कुनै खानेकुरा बराबरी भाग लगाएर बाँड्न सकिएला। तर, यसभन्दा पर गएर अहिलेको विशिष्टीकृत तथा गतिशील समाजमा यो सम्भव कुरा होइन।
     
    बलले समानता स्थापना गर्न खोजिए त्यो टिकाउ हुँदैन। सरकारलाई यसको जिम्मा दिने हो भने त्यसले झनै विकराल रूप लिन्छ। निजी स्वार्थ परिचालित सरकारी मान्छेहरू चाहे प्रशासनिक हुन् वा राजनीति, तिनलाई हामी विश्वास गर्न सक्दैनौं। तिनले आर्थिक स्रोतहरूको पुनर्वितरण गरी समानता कायम गर्लान् भन्ने विश्वास गर्नु मुख्र्याइँ हो।
     
    अर्को समस्या समानता कायम गर्ने नाममा ‘गरी खानेहरू’ लाई रोक्नु हो। आफ्नो सीप र ज्ञानको प्रयोग गरेर आर्थिक रूपमा सक्रियहरूको सिर्जनशीलतामा तगारो हाल्नु हो। कुनै इञ्जिनियर र सवारी चालकले समान पारिश्रमिक पाउन थाले भने हामीकहाँ पनि इञ्जिनियर कम हुने छन्। बलजफ्ती वा जादुयी ढंगले समानता कायम गर्न सकिँदैन। स्टालिनले रुसमा र माओले चीनमा यस्तोे जादुको बाचा गरेका थिए। हाम्रा समाजवादीहरूले पनि त्यस्तै सपना बाँडेका छन– संविधानमा लेखेर।
     
    हामी धेरैलाई समाजवादीका कुरा मिठा लाग्छन। हामी सबै राज्यको छत्रछायाँमा रमाउन चाहन्छौं। एउटा आदर्श सुखी परिवारको सपना देखेका छौं। यस्ता सपना परिवारको घेराभित्र मात्र काम लाग्छ। परिवारका सबै जना मिलेर काम गर्ने, आमाले दिएको मिठोमसिनो खाएर रमाउने। तर, एक जना स्वतन्त्र वयस्क नागरिक आफ्नो आवश्यकता आफ्नै पौरखबाट पूर्ति गर्ने प्रयास गर्छ। ऊ कसैका लागि वस्तु वा सेवा उत्पादन गर्छ र स्वैच्छिक साटफेर गर्छ। कसैको करुणाको पात्र बन्न चाहदैनन्।
     
    अक्सफामको रिपोर्टलाई मान्ने हो भने जोसँग २२ सय अमेरिकी डलर हुन्छ उसले धनीहरुको शृंखलामा संसारको आधा जनसंख्यालाई पछि पार्छ। अक्सफाम अमेरिकाको मात्रै खुद सम्पत्ति ६ करोड ९० लाख डलर छ। संसारभरकै शाखाको हिसाब गर्ने हो भने यो भन्दा निकै धेरै हुने सहजै अनुमान गर्न सकिन्छ। संसारभरको ९९.७ प्रतिशत जनसंख्यासँग यति सम्पत्ति छैन।
     
    अक्सफाम अमेरिकामा काम गर्ने कर्मचारीको वार्षिक तलब औसतमा ९७ हजार हुन आउँछ। यसलाई एउटा राष्ट्र मान्ने हो भने यो संसारमै कतार र लक्जेम्बर्गपछि तेस्रो प्रतिव्यक्ति उच्च आम्दानी भएको मुलुकमा पर्नेछ। सिंगापुर, कुवेत, नर्वे, युएई, हङकङ, अमेरिका समेत पछि पर्ने छन्।
     
    कोही धनी हुनु र कोही गरिब हुनुबीच सधैं सोझो सम्बन्ध हुँदैन। पूर्णतया सरकार नियन्त्रित मुलुकमा यस्तो सम्बन्ध हुन सक्छ किनभने सरकारले एकथरीबाट खोसेर अर्कोथरीलाई सुम्पन सक्छ। उत्तर कोरियाबाहेक अहिले संसारको कुनै पनि मुलुकमा यस्तो भयावह अवस्था छैन होला।
     
    बजार व्यवस्थालाई अलिकति पनि खुला गरिएको मुलुकमा त झन् यो सम्भव नै छैन। किनभने, बजार अर्थतन्त्र भनेको एउटाको लाभ, अर्कोको हानी हुने प्रणाली होइन। बजार व्यवस्थामा मूल्य अभिवृद्धि भइरहेको हुन्छ। यस्तो अभिवृद्धिबाट कसैले नगुमाइकनै धेरैले पाइरहने सकारात्मक अवस्था हुन्छ।
     
    अक्सफामकै रिपोर्टमा उल्लिखित आठ जना धनाढ्य स्वयं नै यसका उदाहरण हुन। सबैभन्दा धनी भनिएका माइक्रोसफ्टका मालिक बिल गेट्सले कसैलाई लुटेका होइनन्। बरु अक्सफामका ठूला दातामध्ये गेट्स पनि एक हुन्। वारेन बफेटले सेयर बजारबाट पैसा बनाएका हुन् भन्ने जगजाहेर छ। अनलाइन सपिङ सञ्चालक कम्पनी अमेजनका जेफ बेजोसले पनि संसारलाई किनबेचको सहज सुविधा दिएरै अर्बौं डलर कमाएका हुन्। मार्क जुकरबर्ग फेसबुकमार्फत करोडौंलाई मोहनी लगाएर युवावयमै अर्बपति बनेका हुन्।
     
    एडम स्मिथले पुँजीवादको बाइबल मानिने ‘एन इन्क्वायरी इन्टु द नेचर एन्ड कजेज अफ द वेल्थ अफ नेसन’ मा मान्छेहरु खुला बजारमा आर्थिक समृद्धिका लागि क्रियाशील हुन्छन् भन्ने उल्लेख गरेका छन्। तर, उनले पैसा कमाएर मात्रै मान्छे महान हुन्छ भनेका छैनन्। बरु उनको भनाइलाई बंग्याएर बजारवादीहरू द्रव्यपिचास हुन् भनिँदै आएको छ। आय वृद्धिमा मात्रै ध्यान दिने तथा सम्पत्ति मात्रै संग्रह गर्ने प्रवृत्तिलाई स्मिथले ‘नैतिक भाव पतनको मुख्य कारण’ भनेका छन्। असल मान्छेले वास्तविक सफलता हासिल गर्न ‘प्रशंसा मात्र खोज्नु हुदैन, प्रशंसायोग्य बन्नुपर्छ’ भन्नेमा उनले जोड दिएका छन्।
     
    अक्सफामको यसपालिको रिपोर्टमा गरिब झन् गरिब हुँदै गएको दाबी गरिएको छैन। न पुँजीवाद वा उदारवादलाई दोष दिइएको छ। बरु के भन्न खोजिएको छ भने समाजका केही मान्छेका तुलनामा अरुको अवस्था दयनीय हुँदै गएको छ। अर्थात् हामीले अपेक्षा गरेको गतिमा धनी हुन नसकेकोमा उसको पिरलो देखिन्छ।
     
    उसले यसो भने पनि बुझ्नेहरुले एउटै कुरा बुझ्छन। पुँजीवाद, उदारवाद, खुला बजार अर्थतन्त्र पर्यावाची हुन्, खराब हुन्, गरिब उत्पादन गर्ने प्रणाली हुन्। क्रोनी क्यापिटालिज्म, क्यापिटालिज्म र उदारवादको भेद थाहा नभएकाहरूलाई अक्सफामको रिपोर्टले अल्मलयाउँछ।
     
    रिपोर्टमा भनिएको छ– ‘सन् १९९० देखि अर्बपतिहरूको सम्पत्तिमा उच्च वृद्धि भएको छ। यो वृद्धि निर्माण वा खानीजस्ता उद्यमबाट हासिल गरिएको हो, जसको सरकारसँग निकट सम्बन्ध हुन्छ। खासगरी विकासशील देशहरूमा यो विकराल छ भने धनी मुलुकमा पनि उल्लेख्य पक्षका रूपमा रहेको छ।’ 
     
    सन् १९९७ र २००८ को वित्तीय संकटलाई रिपोर्टले छुटाएको छ। यी संकटपश्चात सरकारहरुले आर्थिक पुनरुत्थानका नाममा करदाताहरुको अर्बौ डलर खर्चेर तिनै धनाढ्यहरुलाई पोसेका थिए। धनी मान्छे र सरकारबीच देखिने यस्तो स्पष्ट साँठगाँठको चर्चा रिपोर्टमा हुनुपथ्र्यो।   
     
    धनी मान्छेले राजनीनिक शक्ति प्रयोग गर्ने समस्या संसारभर व्याप्त छ। राज्यलाई झन् बलियो बनाएर राज्यशक्तिको दुरुपयोग रोक्न सकिँदैन। बरु समुदायलाई बलियो बनाउनुपर्छ। अक्सफामको सिफारिश नयाँ किसिमका कर लगाउ, भइरहेका करको दर बढाउ भन्ने छ। यसले राज्यलाई अझ शक्तिशाली बनाउँछ र यस्तो शक्ति दुरुपयोगको जोखिम रहिरहन्छ। उसले भनेअनुसार राज्य संयन्त्रमा हाम्रा असल मित्रहरु हुँदैनन्। उनीहरुले हाम्रो हितमा काम गर्दैनन्।
     
    अर्कोतिर गरिब झन् गरिब हुँदै गएको दाबी गर्न पनि मिल्दैन किनभने अहिले विपन्न भनिएकाहरुको आधारभूत आवश्यकतामाथिको पहुँच बढ्दै गएको छ। भोकमरी पहिलेको तुलनामा घटेको छ, शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक पक्षमा सुधार भएको छ।
     
    राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार १९९० मा कुपोषण दर संसारभर १८.६ प्रतिशत थियो २०१५ मा १०.८ प्रतिशतमा झरेको छ। दक्षिण एसियामा यस्तोदर २४.५ बाट १७ प्रतिशतमा ओर्लिएको छ। स्वस्थ खानेपानीको पहुँच १९९० मा ७८.७ प्रतिशत जनसंख्यामा थियो भने २०१४ मा ८९.६ प्रतिशतमा पुगेको छ। बालमृत्युदर १९८० मा दक्षिण एसियामा प्रतिहजार १७१.२ थियो भने २०१५ मा ५२.६ मा झरेको छ। प्रौढ साक्षरता दर १९९० मा दक्षिण एसियाको ४६.५ थियो, २०१० मा ६६.७ प्रतिशत पुगेको छ। विश्वभर यस्तो दर ७५.९ बाट ८५.३ उक्लिएको छ। यी परिसूचकहरुमा नेपालको स्थिति पनि कमजोर छैन्।
     
    अक्सफामका लागि उल्लिखित उपलब्धि निरर्थक छन्। किनभने धनी मान्छेहरु अस्तित्वमा छन्, जोसँग विलाशीताका लागि महल, सवारी साधन, गरगहना, नोकरचाकर सबथोक छन। गरिबी न्यूनीकरण भएर के हुन्छ असमानता हुनु भएन, धनीहरु झन धनी हुनु भएन भन्ने किसिमको तर्क हास्यास्पद हो।
     
    सबै मान्छेको सफा पानी, राम्रो आवास, पर्याप्त खाना, आधारभुत स्वास्थ्य सुविधा, उचित शिक्षामा पहुँच हुनुलाई मानव समुदायको उपलब्धि नमान्ने? अमूर्त, काल्पनिक, युटोपिया, इगालिटेरियन समाजको मृगमरिचिकामा कहिलेसम्म बस्ने?
     
    गरिबी गाउनेहरु सरकार अघि आउनुपर्छ भन्छन्। धनको पुनर्वितरण गर्नुपर्यो भन्छन। बरु सरकारमा बस्नेले आफ्नो ‘भाग’ लिए फरक पर्दैन उनीहरुलाई ! धनीलाई कर लगाएर गरिबलाई दिने उनीहरुको पुनर्वितरण योजनामा धनको सिर्जना पहिलेकै (कर लगाउनु अघिकै) दरमा हुन्छ भन्ने अनौठौ मान्यता राखिन्छ। उच्च दरमा कर लगाएपछि पहिल्यैकै दरमा नयाँ रोजगारी सिर्जना गर्न सकिएला? सेयरधनीलाई बढाएर लाभांश बाँड्न सकिएला? कामदारलाई बढी ज्याला दिन सकिएला?
     
    समानता कायम गर्ने नाममा पुनर्वितरणका लागि करको दर उच्च बनाएपछि कुन उत्साहले लगानीकर्ताले लगानी गर्छ? फेरि जब करको कुरा आउँछ यो काम सरकारको हुन्छ। सरकार हाम्रो दुःखनाशक बन्न सक्छ कि सक्दैन भन्ने इतिहाससिद्ध भइसकेको छ।  
     
    स्वतन्त्र मानिस समान हुदैनन्। जब मानिस स्वतन्त्र हुन्छन्, उनीहरु आफ्नो भाग्यको मालिक आफै हुन्छन्। उनीहरु आफ्नो र परिवारको उन्नतिका लागि प्रयास गर्न स्वतन्त्र हुन्छन्, खुला बजारले प्रदान गर्ने परिणामहरु एकैनासका हुदैनन्। मान्छेले फरक स्तरमा आम्दानी गर्छन्, धनको जोहो गर्छन। स्वतन्त्र समाजमा मान्छे फरक हुनु सकारात्मक पक्ष हो। अहिलेका वा उहिलेका मान्छे धेरै किसिमले फरक छन्। यस्तो फरक पृष्ठभूमिबाट आएका, फरक किसिमबाट फरक स्रोत साधन लिएर एकअर्कासँग अन्तक्र्रिया गर्ने, विनिमय गर्ने मान्छेले अन्ततः समान नतिजा हासिल गर्छन भन्ने अपेक्षा गर्नु गलत हो।
     
    असमानताले गरिबी कसरी बढाउँछ? रिपोर्टमा उत्तर पाइदैन।
     
    असमानता गरिबी एउटै कुरा होइनन्। रिपोर्टमा मात्र भाषाको दुरुपयोग छ। रिपोर्टमा भन्न खोजिएजस्तो कोही धनी हुनुको कारणले अर्को गरिब हुन सक्दैन। गरिबीलाई असमानतासँग जोडिएको छ अनि असमानता किन खराब हो प्रस्ट्याइएको छैन। खाली असमानता बढ्दो छ भनिएको छ, यसविरुद्ध संघर्ष गर्नुपर्छ भनिएको छ। असमानता गरिबी न्युनीकरणमा बाधक हो÷होइन भनिएको छैन।
    पछिल्लो समय भूमण्डलीकरणको व्यापकतासँगै गरिबी घटेको सकारात्मक तथ्य हाम्रा सामु छ। सरकारको हस्तक्षेप नहुने स्वतन्त्र समाज समृद्ध हुन्छ। स्वतन्त्र समाजमा गरिब कम हुन्छन्। स्वतन्त्र समाजमा गरिबको तुलनात्मक आम्दानी उच्च हुन्छ।
     
    अर्थशास्त्री मिल्टन फ्रिडम्यान भन्ने गर्थे, ‘स्वतन्त्रताभन्दा समानतालाई प्राथमिकता दिने समाजले दुवै चीज गुमाउँछ। स्वतन्त्रतालाई अघि बढाउने समाजले दुवै चीज हासिल गर्ने उच्च सम्भावना राख्छ।’
     
    समानता अवसरमा खोज्नुपर्छ, नतिजामा होइन। न

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal