प्रदूषणले आफूलाई धेरै चिन्तित बनाएको पूर्व राष्ट्रपति यादव

पूर्वराष्ट्रपती डा रामवरण यादवले बढदो प्रदुषणले आफूलाई धेरै चिन्तित बनाएको बताउनुभएको छ । शान्ति सुधा बोडिङ स्कुल घोराहीले आज शुक्रबार आयोजना गरेको रजत महोत्वसमा सम्बोधन गर्नु दाङ आउनुभएका बखत दाङ उद्योग वाणिज्य संघले घोराहीमा आयोजना गरेको कार्यक्रममा डा यादवले उद्योगीलाई वातावरणीय अवस्थालाई ख्याल राखेर मात्रै आफ्ना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गर्नुभयो । दाङ निकै सुन्दर उपत्यका छ तर यहाँ ४÷५वटा सिमेन्ट उद्योग छन, सुन्दर ठाउँमा किन उद्योग खोलिए ? उहाँले प्रश्न गर्दै भन्नुभयो, यसले यहाँको वातावरण सन्तुलन हुन दिन्छ त ? डा यादवले आफ्नो पालामा शुरु भएको चुरे संरक्षण कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । चुरे क्षेत्रको जङ्गल मासिनु तथा ढुङ्गा, माटो उखनन गरिनुले भूक्षय, मरुभूमीकरण र जलसम्पदाको नाश भइरहेकामा दुखेसो व्यक्त गर्दै जलवायु असरको कारणले पनि व्यापार– व्यवसाय र कृषिमा घाटा लागेकाले यसमा चनाखो रहन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । पछिल्लो समयमा विकासको नाममा जथाभावी डोजर लगाइनुले पनि वातावरण विनाश भइरहेको छ भन्दै उहाँले वातवरणमैत्री विकासको आवश्यकता रहेको धारणा राख्नुभयो । अर्काे प्रसङ्गमा डा यादवले भन्नुभयो, मेरो प्रमुख चाहना संविधान लागू होस, सुशासन कायम रहोस्, स्वच्छ वातावरण होस, देशको विकास तीव्र भएको देख्न पाइयोस् भन्ने नै छ । सो अवसरमा सङ्घका सभापति नारायण भुसालले ५ नं प्रदेशका सबै जिल्लाको बीचमा परेको र हावापानी राम्रो भएकाले दाङलाई प्रदेशको राजधानी बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
 

प्रतिकृया दिनुहोस