गाँउपालिकाको सेवा लिन १२ कक्षा पास गर्नैपर्ने

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको छ ।
‘अब यस गाउँपालिकाभित्र अध्ययन गर्ने हरेक विद्यार्थीले अनिवार्य रूपमा कक्षा १२ उत्तीर्ण गर्नुपर्नेछ । 
यदि बीचमै पढाइ छाडेको पाइए गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवासुविधा कटौती गरिने गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिनुभयो ।
यदि कोही घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न नसक्ने छ भने उसले वडा वा गाउँपालिका कार्यालयमा निवेदन दिए कक्षा १२ सम्म पढाउने जिम्मा आफूहरूले लिने अध्यक्ष घर्तीले बताउनुभयो ।
प्रत्येक वडामा कक्षा १२ सम्मको विद्यालय सञ्चालन गर्ने तथा गाउँपालिकाभित्र एउटा क्याम्पस स्थापना गर्ने तयारी भइरहेको स्मृति गाउँपालिकाले जनाएको छ । 
झट्ट सुन्दा अलि महत्वाकांक्षी योजनाजस्तो देखिए पनि यसलाई सफल बनाएरै छाड्ने गाँउपालिकाले बताएको छ । 
उक्त गाउँपालिकाले शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव शून्यमा झार्नेसमेत दाबी गरेको छ । 
जिल्लामा पछिल्लो समय शैक्षिक स्तर खस्कँदै गएका बेला स्थानीय सरकारले ल्याएको यो योजनाप्रति आमचासो बढेको छ।

प्रतिकृया दिनुहोस