नक्कली प्रहरी दाङमा पक्राउ

नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । 
प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।
नेपालीले आफू जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको   हो ।
पक्राउ परेका मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनि ट्राफिक चोक स्थित  पाहुना गेष्ट हाउसमा गई निःशुल्क खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनि जहेरी परेको थियो ।
शनिबार पक्राउ परेका नेपाली र मल्ललाई मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय दाङबाट  १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस