लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भए अनुसार लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक भएको हो ।  मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गरेकी हुन् ।  नयाँ नक्साले विश्व मानचित्र बदलिएको बताइन् । उनले नेपालीको मनोबल उच्च बनाएको पनि बताएइन् । संकलन गरेका यथेष्ट प्रमाणका आधारमा नक्सा सार्वजनिक गरिएको अर्यालको भनाई छ ।  

भारतले नेपाली भूभाग लिपुलेकसमेत समेटेर मानसरोवर जोड्ने बाटो उद्घाटन गरेपछि सीमा विवाद उत्कर्षमा छ । नेपालले औपचारिक रुपमा उक्त विषयमा भारतलाई कूटनीतिक नोट पनि पठाइसकेको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर प्रष्टीकरण सोधेको थियो।  विवाद जारी रहेकै बेला नेपाल सरकारले वार्षिक नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको थियो । सो अनुसार मन्त्रिपरिषदले नयाँ नक्सा सार्वजनिक गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार मन्त्रालयले बुधवार नयाँ नक्सा सार्वजनिक गरेको हो ।  

प्रतिकृया दिनुहोस