कोरोना भाइरसवाट दोस्रो व्यक्तिको मृत्यू : रातभर छट्पटाइरहे तर एम्वुलेन्स आएन

जुन क्वारेन्टीनमा यसअघि नै दुई जनामा कोरोना पोजेटिभ देखिइसकेको थियो, त्यहि क्वारेन्टीनमा २५ बर्षिय यूवा असह्य पीडा सहित छट्पटाइरहेका थिए, शनिबार राति एक्कासी उनको स्वासप्रस्वासमा समस्या आयो । बाँके जिल्ला स्थित नरैनापुर गाउँपालिकाको एम्बुलेन्स एक जना गर्भवतिलाई लिएर अस्पताल गएको थियो । गाउँपालिकासँग एम्बुलेन्स नभएपछि अर्को एम्बुलेन्सका लागि पहल गरियो । तर, एम्बुलेन्स चालकका लागि सुरक्षासामग्री नभएकाले अरु एम्बुलेन्स चालकले पनि आउन मानेनन् । ती युवा छटपटाइरहे, तारन्तर बान्ता गरिरहे । अन्तत आइतबार बिहान ६:४० उनले देहलिला त्याग गरे ।अस्पतालसम्म पुग्न नै नपाई यसरी अन्त्य भयो - एउटा सुन्दर जीन्दगी । सायद उपचार पाएको भए उनलाई जोगाउन पो सकिन्थ्यो कि ? अहिले सर्वसाधारणमा यहि प्रश्न उब्जीरहेको छ ।

हो, बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट ज्यान गएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणवाट ज्यान गुमाउने उनी दोस्रो व्यक्ति बन्न पुगे । सिन्धुपाल्चोककी एक महिलाको कोरोनाबाट ज्यान गएको भोलिपल्टै ती यूवाको ज्यान गएको हो ।  वैशाख ३० गते भारतबाट  नेपाल आएका ती युवा बाँकेको नरैनापुर गाउँपालिका ५ को क्वारेन्टाइमा बसेका थिए । वीना उपचार ती यूवाको ज्यान गएपछि स्थानीयले  चिकित्सक र स्थानीय सरकारसँग आक्रोस पोखिरहेका छन् । र, भन्दै छन्- अब यो क्वारेन्टाइनको विकल्प खोजिनुपर्छ, जहाँ केही सुरक्षा व्यवस्था भएको होस् । आकस्मीक उपचारका लागि उचित प्रवन्ध होस् । तर, गाउँपालिका त्यसको विकल्प दिन सक्ने अवस्थामा छैन । नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह यतिबेला आफै तनावमा छन् ।
जनताले अर्को क्वारेन्टाइनको माग गरिरहेका छन् । निर्माण गरिएका सबै क्वारेन्टाइन भारतबाट आएका नागरिकले भरिभराउँछन् । बाँकी रहेका गाउँपालिकाका दुई तीन स्कुल वस्तीको बीचमा छन् । अध्यक्ष शाहका अनुसार त्यसैले गाउँपालिकामा अन्यत्र क्वारेन्टाइन बनाउन सक्ने अवस्था नै छैन । 'गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ७ सय १८ जना नागरिक छन्। मृतक रहेको नरैनापुर  ५ कै क्वारेन्टाइनमा पनि २६ जना छन् । यस्तो बेला उनीहरूलाई कता लैजाने  कसरी व्यवस्थापन गर्ने ? ’, उनले प्रश्न गरे ।

उनले गाउँपालिका भरी १३ वटा क्वारेन्टाइनमा नागरिकहरूको व्यवस्थापन गरिएको जानकारी दिए । यसमा गाउँपालिकाले मात्र केही गर्न नसक्ने भएकाले केन्द्र र प्रदेश सरकारबाट नै ठूलो सहयोग हुनुपर्ने उनी बताउँछन् । अहिले गाउँपालिकामा चिकित्सक र चिकित्सकीय सामग्रीकै अभाव रहेकाले पनि आफूहरूले निकै सास्ति खेप्नुपरेको उनको भनाई छ । तर उनले अपेक्षा गरेको प्रदेश सरकारसित पनि उपयूक्त निकास देखिदैन । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेल आफै अन्यौल जस्तो देखिन्छन् ।

केहिदिन यता भारतवाट नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या बढ्न थालेपछि फेसवुक मार्फत उनले आफ्नो प्रतिकृया जनाएका छन् । उनले भारतमा रहेका नेपालीलाई नेपाल पठाउन भारत सरकारनै उद्धत रहेको प्रतिकृया दिएका छन् । साथै उनले १० हजार बढि नेपाली भारतवाट नेपाल प्रवेश गरेको र उनीहरुको क्वारेन्टिन व्यवस्थापन तर्फ गम्भिर हुनुपर्ने उल्लेख गरेका छन् ।  यसवाट प्रदेश सरकार नेपाल प्रवेश गर्नेहरुको बढ्दो संख्याप्रति चिन्तित रहेको स्पष्ट हुन्छ । साथै उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने ध्याउन्नमा रहेको बुझ्न सकिन्छ । 

परीक्षणमै ढिलाई

क्वारेन्टाइमा रहेका दुई जनामा केही दिन पहिले कोरोना पोजेटिभ देखिसकेको थियो । उनीहरूको दाङको बेलझुण्डि कोरोना अस्पतालमा उपचार भइरहेको छ । दुई जना संक्रमित भेटिसकेको अवस्थामा त्यो क्वारेन्टाइनमा रहेका सबैको चाँडोभन्दा चाँडो पिसिआर परीक्षण हुनुपर्थ्यो । तर, त्यो हुन सकेन । स्वास्थ्यमा समस्या देखिसकेपछि तुरुन्तै जसरी पनि अस्पताल लैजाने व्यवस्था गरिनुपर्थ्यो। त्यो पनि हुन सकेन । जसले गर्दा एक जनाले अनाहकमै ज्यान गुमाउनु पर्यो।

कमजोर तयारीको परिणाम

बाँकेको पछिल्लो यो घटनाले सरकारको तयारी नै कमजोर रहेको छताछुल्ल पारिदिएको छ । कुनै गाउँपालिकामा ७ सय १८ जना कोरोनाको आशंका गरिएका नागरिक क्वारेन्टाइनमा हुनु र एउटा एम्बुलेन्स पनी तयारी अवस्थामा नरहनुले कमजोर व्यवस्थापन स्पष्ट हुन्छ ।  यस्तो ठाउँमा त सरकारले चिकित्सक र अन्य आवश्यक सामग्रीलाई पूरै अलर्ट अवस्थामा राख्नुपर्थ्यो। अझै पनि सरकारले यो घटनाबाट पाठ सिकेर बलियो तयारी गर्नुपर्ने स्थानीयको माग छ। सरकारको कमजोर तयारी रहेकैले आफूहरू उक्त क्वारेन्टाइनको बिकल्प खोजिरहेको स्थानीयले बताएका छन् ।
मृतक युवाको शव व्यवस्थापनको काम नेपाली सेना र प्रहरीले गरिरहेको गाउँपालिका अध्यक्ष शाहले बताए। भारतीय भूमिसँग जोडिएको उक्त गाउँपालिकामा अहिले पनि भारतबाट लुकिछिपी आउनेहरू रोकिएका छैनन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाभाइरसको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस