नेपालगञ्जमा १३० को रिपोर्ट आउँदा थप एक जनामा कोरोना संक्रमण, ५४ जनाको रिपोर्ट आउन बाँकी, थप ट्रेसिङ जारी

बाँकेमा शुक्रवार कोरोना भाइरस पोजेटिभ देखिएका पुरुष संक्रमितकै सम्पर्कमा रहेका व्यक्ति भएको खुलेको छ ।   भेरी अस्पतालले बुधवार संकलन गरेको १३६ जनाको स्वाबमध्ये १३० को परीक्षण रिपोर्ट आज सार्वजनिक गर्दा नेपालगञ्ज वडा नम्बर ८ का १६ वर्षीय किशोरमा भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगञ्जका १६ वर्षीय किशोरमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका थिए । बाँकी ६ जना र बिहीवार स्वाब संकलन गरिएका ४८ गरी ५४ जनाको रिपोर्ट शनिबार आउने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए । थापाका अनुसार शुक्रवार पोजेटिभ देखिएका किशोरलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदैछ ।  बाँकेमा गत शुक्रवार पहिलो व्यक्तिमा संक्रमण देखिएको थियो ।

आज एक साताको अवधि पुरा हुँदा संक्रमितको संख्या २४ पुगेको छ । गत शुक्रवार बाँकेमा पहिलोपटक नेपालगञ्जको वडा नम्बर ८ स्थित इस्लामिया फैजुल उलम मदरसाका ६० वर्षीय शिक्षकलाई कोरोनाको संक्रमण देखिएको थियो । उनको सम्पर्कमा आएका १०५ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ७ र ९ वर्षीया बालिकासहित थप २२ जनामा संक्रमण देखिएको थियो। उनीहरु सबै सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचाररत छन् । अन्य संक्रमितको सम्पर्कमा आएका थप ५६ जनाको बुधवार परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो। शुक्रवार १०६ जनाको रिपोर्ट आउँदा एक जना थपिएका हुन् । नेपालगञ्जमा आज एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ जना पुगेको छ। जसमा ७६ पुरुष र २८ महिला छन् ।

मन्त्रालयले पठायो पीसीआर किट

यसैबीच कोरोना भाइरसको पीसीआर परीक्षणका लागि किटको अभाव देखिएको बाँकेमा स्वास्थ्य मन्त्रालयले कम्तीमा एक हजारको परीक्षण गर्नेगरि किट पठाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले पीसीआर किट नेपालगञ्ज पठाइएको बताए। ‘अभाव देखिएपछि किट पठाइसकिएको छ,’ उनले भने, ‘परीक्षणमा समस्या हुन दिँदैनौँ।’ यसअघि बिहीवारको नियमित प्रेस ब्रिफिङमा देवकोटाले कोरोनाको हटस्पट नेपालगञ्ज र वीरगंजमा कम्तीमा एक/एक हजार र उदयपुरमा कम्तीमा ५ सय किट स्वास्थ्य मन्त्रालयको नेतृत्वमा नेपाली सेनाको टोली परिचालन गरिने बताएका थिए।  

यता भेरी अस्पतालका डा थापाले संकलित स्वाबको परीक्षणका लागि किटको अभाव भएको बताए। स्याम्पल लिएर राख्नुमात्रै भएन। परीक्षणका लागि पीसीआरको किटको अभाव छ,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले पठाउने भनेको छ। आज साँझसम्म आइपुग्ला कि?’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर बासुदेव पाण्डेले आवश्यक स्वास्थ्य सामग्रीमा व्यवस्थापन विभागले समन्वय गरिरहेको बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालय, प्रदेशको स्वास्थ्य निर्देशनालयबाट जनशक्ति खटिएका छन्। भेरी अस्पतालका डाक्टर थापाले केन्द्रको टोली र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ तथा संक्रमण कहाँबाट फैलियो भन्ने अध्ययन भइरहेको बताए। संक्रमित २४ जनाको कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको छ।

प्रतिकृया दिनुहोस