झण्डै डेढ महिना पछि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय सञ्चालन

चैत ११ गतेदेखि लागु गरिएको लकडानका कारण बन्द गरिएका देशभरका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय शुक्रबारदेखि खुलेका छन् । स्वास्थ्य उपचारका सेवा र कार्यालय, दमकल सेवा, दूरसञ्चार, बिजुली, पानी वितरण गर्ने, ढल तथा सरसफाइका सेवा कार्यालय खुलेका हुन् ।
दैनिक जीवन सहज बनाउन भन्दै सरकारले आजदेखि अत्यावश्यक सेवाका कार्यालय खोल्ने निर्णय गरेको हो । 
एक तिहाई कर्मचारीले काम गर्ने गरी सरकारी कार्यालय र संस्थानहरु खुलेका छन् । 
बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार शुक्रबार सकेसम्म अनलाइनबाट सेवा दिने गरी अत्यावश्यकीय सेवाका कार्यालय खुलेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताउनुभयो ।
लकडाउनको अवधिमा अनावश्यक भिडभाड नगरि सरकारको निर्देशन पालना गर्न उहाँको आग्रह छ । 
अनलाइन सेवाको पहुँच नपुगेको ठाउँमा पाँच जनाभन्दा कम, स्वास्थ्य मापदण्ड र सामाजिक दुरीको पालना गरी सेवा लिन र दिन सकिनेछ ।
कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले सरकारले निश्चित सेवामात्र प्रवाह गर्ने निर्णय गरेको भन्दै उहाँले हतार गरेर जोखिम नमोल्न सेवाग्राहीलाई आग्रह गर्नुभएको छ । 
‘कानुनले अत्यावश्यकीय सेवा भनेर तोकेका निश्चित सेवा प्रवाह गर्ने कार्यालय मात्रै खुलेका हुन’, उहाँले भन्नुभयो ।
धेरैजसो सेवा अनलाइनबाट नै प्राप्त हुनेछ ।’ 
कर्मचारीले आलोपालो गरी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसका लागि कार्यालयमा स्प्रे छर्ने, प्रवेशद्वार र कार्यकक्षमा सरसफाइ गर्ने, बेलाबेला साबुन पानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने, दुरी कायम गर्ने, मास्क (मुखावरण) र कामको प्रकृति अनुसार पञ्जा लगाउने, ज्वरो मापन गर्ने र बिरामी भेटिए निगरानी गर्न उहाँको सुझाव छ । काममा खटिने कर्मचारीलाई आफै पनि सर्तकता अपनाउन बिडारीले भन्नुभयो । 
सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउन गरेको छ । 
त्यस्तै सीमा नाका र अन्तराष्ट्रिय उडान तथा अवतरण पनि जेठ १८ गते मध्यरातिसम्म स्थगित गरिएको छ ।

प्रतिकृया दिनुहोस