बाँकी ४५ मध्ये थप ७ जना समेत गरि  नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुग्यो,  अब कन्ट्याक्ट ट्रेसिङमा खोज पड्ताल शुरु 

बाँकेस्थित भेरी अस्पतालले ४५ जनाको कोरोना भाइरस परीक्षण रिपोर्ट सार्वजनिक गरेको छ। जसमा ९ वर्षीया बालिकादेखि ५५ सम्मका वृद्ध गरी ७ जनामा भाइरस पोजेटिभ देखिएको छ। यी ४५ जना बाँकेका पहिलो संक्रमित मदरसाका शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरु हुन् । उनको सम्पर्कमा आएका ६० जनाको आइतवार नै परीक्षण सकिँदा १५ जनामा संक्रमण देखिएको थियो। बाँकी ४५ जनाको रिपोर्ट सोमवार विहान आउने भनिए पनि हिजो दिनभर र राति पनि सार्वजनिक गरिएन।

उनीहरुको रिपोर्ट हिजो दिउँसो ३ बजेपछि सार्वजनिक हुने समेत भनिएको थियो। स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा संक्रमितबारे सूचना आउने अपेक्षा थियो। तर, हिजो रातिसमेत रिपोर्ट सार्वजनिक गरिएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत् अहिले बिहान रिपोर्ट सार्वजनिक गर्दै ७ जनालाई पोजेटिभ देखिएको जानकारी दिएका छन्।

रिपोर्टमा किन भयो ढिलाई ? 

भेरी अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर प्रकाश थापाका अनुसार ४५ जनामध्ये केहीको रिपोर्टको नतिजा शंकास्पद देखिएकाले पुन परीक्षण गर्नुपरेकाले रिपोर्ट आउन ढिलाई भएको हो। चार जना जतिको एक्सट्याक्सन नभएर रिपिट गरिएको थियो। ढिलो पनि भयो । धेरै फ्याक्टरहरु देखियो। नयाँ रियजनिङको प्रोसेसिङ गर्न समय लाग्छ। लट लट भन्दा एकैपटक दिने भनेर सबै सकेर अन्तिममा आज सार्वजनिक गरिएको हो, उनले भने ।  डाक्टर थापाले आइतवार देखिएका १५ संक्रमितसँग सोधपुछ भइसकेको र थप संक्रमितसँग सोधपुछपछि कन्ट्याक्ट ट्रेसिङको काम अघि बढ्ने बताए ।  

संक्रमितको ट्राभल हिस्ट्री खोज्ने काम भइरहेको छ। अब कन्ट्याक्ट ट्रेसिङमा जान्छौं, उनले भने। कन्ट्याक्ट ट्रेसिङमा सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार नेपालगञ्ज टोली पठाइसकेको छ। प्रदेशबाट पनि क्षेत्रीय निर्देशक डा विनोद गिरी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालगञ्जमा छन्। आज थपिएका संक्रमितलाई क्वारेन्टाइनबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
 

प्रतिकृया दिनुहोस