पशुपति आर्यघाटमा प्रथम महिला गायिकाको अन्त्यष्ठि : पशुपतिका पण्डितले दिए दागबत्ति

उतिवेलाको त्यो पुरातन् समाज, सोह्र बर्षे कलिलो उमेर, महिलाहरु घर वाहिर निस्कनै हुन्न भन्ने मान्यता, राणा शासनको जगजगी, तर पनि आन्दोलनमा जनसमर्थन जुटाउन कांग्रेसले सञ्चालन गरेको रेडियोमा रानुदेवीको प्रवेश भयो । त्यसको जिम्मा तारणीप्रसाद कोइरालाले लिए । तारणीलाई रानुदेवीले गीत गाउँछिन् भन्ने थाहा थियो । तारणी आफैं गीत लेख्थे पनि । त्यसैले उनले भने, 'म गीत लेख्छु तिमी गाइदेऊ ।'  तारणीको शब्द तथा कालुराम तथा हीरालाल मण्डलको संगीतमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट उनले गित गाइन्, त्यो पनि क्रान्तिकारी गित । त्यो अवसर नै उनका लागि अमूल्य बन्यो, इतिहास बन्यो । रानुदेवी अधिकारीलाई त्यहि गितले प्रथम महिला गायिकाका रुपमा समेत स्थापित गराइदियो । अनि रेडियो नेपालवाट प्रसारित पहिलो गित बन्यो,  

नेपाली नेपाली 
अघि बढौं हातमा क्रान्ति झण्डा लिई
क्रान्ति झण्डा लिई नेपाली 
हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई
सब मिली उद्धार गरौं हाम्रो नेपाललाई.........

रेडियो नेपालवाट प्रत्यक्ष प्रसारित उक्त गितमा पछि राणा शासकले प्रतिबन्ध समेत लगाए । २००७ सालको शुरुवातमै नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले त्यो गीत गाएकी थिइन् । त्यस समयमा उनले गाउने गीतहरु प्रत्यक्ष प्रसारण गरिन्थे, र गीतलाई साथ दिने बाजाहरु पनि प्रत्यक्ष नै बजाइन्थे । सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाह गरेर कोइराला परिवारसंग जोडिन पुगेकी थिइन् । 

२००७ साल फागुन ७ गते प्रजातन्त्रको स्थापना लगत्तै अर्थात चैत्र २० गते काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो । केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन् । त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्,  जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए । दुईमध्येको एउटा गित थियो, 

आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस्
लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्
खडा भयो जनतन्त्र फौज लौ आउ आउ नेपाली
मातृभूमिले मुक्तकण्ठले डाक्छिन् आउ गोर्खाली
जहाँ जहाँ छौ दौडी आउ तिम्रो मात्र सहारा होस्
लड्दा लड्दै मरे मरौंला यो एउटा नै नारा होस्........./

पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित समेत गरिएका थिए । संगीतलाई अघि बढाउने इच्छाले उनी बनारस गइन् र म्याट्रिक र आइएमा शास्त्रीय संगीतको अध्ययन गरिन्। त्यसपछि उनी विराटनगरमा धेरै वर्षसम्म शिक्षण र राजनीतिमा सकृय रहिन् । २०३६ सालको शिक्षक आन्दोलनमा जेल परेकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्षको जिम्मेवारीमा थिइन् । अधिकारी आदर्श बालिका विद्यालय विराटनगरमा अध्यापन समेत गरिन् । सरल स्वभावकी रानुदेवी विद्यार्थीका लागि पनि निकै आदरणीय रहेको उनलाई नजिकवाट चिनेकाहरु बताउछन् । वीरगन्जमा जन्मिएर विराटनगरलाई कर्मथलो बनाएकी, क्रान्तिकारी गीतबाट गायन यात्रा सुरु गरेकी उनले आफ्नो जीवनकालमा धेरै गीत भने गाउने अवसर पाइनन् । तर रेडियो नेपालमा गाउने पहिलो महिला गायिकाको इतिहास उनकै नाममा रह्यो । 

                                           OOOO     OOOO    OOOO    OOOO

रानुदेवी पौडेल (अधिकारी) को जन्म  विसं १९९३ मा वीरगन्जमा भएको थियो । बुबा ईश्वरीप्रसाद उपाध्याय वनारसमा थिए । रानुदेवी पनि उतै गइन् । त्यहीं पढ्न थालिन् । १६ वर्षको उमेरमा विवाह भयो ।वनारसबाट विराटनगर आइन् । नेपाली कांग्रेसले राणाविरोधी आन्दोलन छेडेको थियो । उनको परिवार पनि उक्त आन्दोलनमा सरिक थियो । परिवार मात्रै होइन, आफन्त पनि । आफन्तले त आन्दोलनको नेतृत्व नै गरेको थियो । नोना कोइराला रानुदेवीकी दिदी हुन् । उनको परिवारमा उनका जेठाजु युवराजप्रसाद अधिकारी, गिरिजाप्रसाद कोइरालासँगै जेलमा थिए । भाइको विवाहमा जेलबाट छुटेर आएका थिए, युवराज । सरकारविरोधी आन्दोलन चर्किरहेको थियो । सोही आन्दोलनमा सरिक भएकाले उनीहरू भारतको जोगबनीमा थिए । रानुदेवी पनि जोगबनीमै थिइन् ।  हुन त त्यसअघि उनले संगीतको शिक्षा लिएकी थिइनन् । हिन्दी चलचित्रका गीत सुन्थिन् । रमाइलो लाग्थ्यो । तीनै गीत गुनगुनाउँथिन् । स्वर सुरिलो रहेछ । ट्युन अनुसार घुम्थ्यो । रेडियोमा पछिससम्म त रेकर्ड गर्ने चलन थिएन, त्यो बेला कसरी होेस् । सम्भव थिएन । लाइभ गाउनुपथ्र्यो । सांगीतिक इन्स्ट्रमेन्टसँगै बसेर गीत गाउनुपथ्र्यो । उनले पनि त्यसै गरिन् । उनले गाउन थालेपछि अरू पनि आए गीत गाउन । जस्तै, शान्ति मास्के र अरू पनि ।  आन्दोलनमा सरिक गराउन गाइएको ‘नेपाली अघि बढ,  क्रान्ति झण्डा हातमा लिई...’ मा उनलाई पछि अरूले पनि साथ दिए । उनले रेडियोमा गाएको यो नै पहिलो गीत थियो ।  ‘आज देशको क्रान्ति युद्धमा...’ रानुदेवीले नै गाएको गीत हो । 

रेडियोमा समाचार वाचन गरिसकेपछि गीत गाइन्थ्यो । क्रान्ति चेतना अभिवृद्धिका लागि उनी गीत गाउँथिन् । विराटनगरबाट रेडियो काठमाडौं सारियो । रानुदेवी पनि काठमाडौं आइन् । उनलाई काठमाडौं बस्न खासै मन परेन । र विराटनगर फर्किएर पढाउन थालिन् । 

‘मेरो मुटुको माझमा कसको तस्बिर छल्कियो..’,   ‘चरी भुर्रर उडी घरमा मेरो जा...’,  ‘तिमी दूर देशका परदेशी तिमी जाऊ...’ लगायत ६ गीत उनले कलकत्ता (कोलकाता) गएर रेकर्ड गरिन् । पञ्चायती व्यवस्था आएपछि उनका उनका क्रान्तिकारी गीत रेडियोबाट बज्न छाडे । भलै उनका अरू गीत बजिरहन्थे । गीत–संगीतलाई निरन्तरता दिने उत्कट चहाना थियो तर समयले पूरा हुन दिएन । 

० ० ०
परिवारै राजनीतिमा थियोे । प्रजातन्त्रका लागि उनी आफैंले पनि राजनीतिक चेतनाका लागि गीत गाएकी थिइन् । विवाहपछि पारिवारिक जिम्मेवारीले गायन र राजनीतिमा चाहे जति समय दिन नसके पनि रानुदेवी शिक्षक आन्दोलनमा सहभागी हुन्थिन् । सरकारले उनलाई जेल नै लग्यो । सरकारले जतिसुकै दुःख दियोस् तर उनले हिम्मत हारिनन् । बरु शिक्षण पेसा छाडेपछि महिला संघको नेतृत्व सम्हालिन् । जिल्ला सभापतिको जिम्मेवारी पनि उनले सम्हालिन् । 

OOO

रानुदेवीले तारणीदेखि मविवि शाहसम्मको गीत गाइन् । मविवि शाहका दुईवटा गीत गाएकी थिइन् । महेन्द्र संगीत नामक संस्थाको संगीतमा उनले मविविका गीत गाएकी हुन् ।  रत्नदाससँग पनि उहाँले दुईटा गीत गाउनुभएको छ, रानुदेवी संगीत पुरस्कार–२०७० समेत पाएका बुलु भन्छन्, उहाँले कोलकाता गएर रेकर्ड गरेको गीतको डिस्क रेकर्ड त मसँगै छ । ०६४/६५ मा उनले ‘जाग नेपाली, उठ नेपाली.’ बोलको गीत गाइन् । शंकर खरेलको शब्द तथा सुमित खड्काको संगीतमा गाएको यो गीत नै रानु देवीको अन्तिम गीत बन्न पुग्यो ।

अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित रानुदेवी को ८४ वर्षको उमेरमा निधन भएको छ । केएमसी अस्पताल काठमाडौंमा उपचारका क्रममा सुक्रवार बिहान २ बजे निधन भएको हो । लकडाउनका बीच आजै बिहान पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार समेत गरिएको छ । अन्तिम संस्कारमा छिमेकका र केहि आफन्त गरि करिव २० जनाको सहभागिता थियो । अधिकारीका छोरा र एक छोरी अमेरिकामै रहेका कारण पशुपतिका पंण्डितले दागबत्ति दिएको जनाइएको छ । 
उनी केही समयअघि मात्र अमेरिकाबाट काठमाडौं फर्किएकी थिइन् । छोरा अविन अधिकारीसँग उनी केही समय अमेरिकामै रहेकी थिइन् । रानुदेवीका जेठी छोरी र छोरा अमेरिकामा बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस