कश्मीरका बालबालिकालाई रेडियोमार्फत् शिक्षा

भारतको कश्मीर क्षेत्रका बालबालिकालाई रेडियोमार्फत् अध्यापन गराइने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरूलाई रेडियोमार्फत् अध्यापन गराउनु परेको हो। भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरू अध्ययन कार्यबाट वञ्चित भएका छन् । अत्यधिक धेरै विद्यार्थीहरू माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियोमार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरूले जनाएका छन्। भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियोमार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ।

अधिकारीहरूका अनुसार शिक्षकले अल इन्डिया रेडियोमार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरूले घरमै बसेर पढ्न सक्नेछन्। कश्मीरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत २६ मार्चदेखि नै दूरसञ्चार केन्द्रको कश्मीर च्यानलमार्फत् पनि अध्यापन गराउँदै आएको छ। तर, कतिपय विद्यार्थी टेलिभिजनको पहुँचमा नभएकाले उनीहरूलाई समेत हुने गरी रेडियोमार्फत् पनि अध्यापन गराउनु परेको हो। निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरू रेडियो, टेलिभिजनसँगै युट्युब, निर्देशनालयको वेबसाइटलगायत विभिन्न विद्युतीय माध्यमहरूबाट पनि विद्यार्थीसम्म पुर्‍याउने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। कश्मीरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गए पनि विद्यार्थीहरू पठनपाठनबाट पूर्णरूपमा वञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरू तयार पारेर उनीहरूको पहुँचमा पुर्‍याउन अनेक उपायहरु गरिएको बताए। जम्मु र कश्मीर राज्यमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या ४९४ पुगेको छ भने ती मध्ये ६ जनाको मृत्यु भएको छ। त्यसैगरी अरू ११२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। रासस-पीटीआई

प्रतिकृया दिनुहोस