दाङमा पिसीआर प्रविधिमार्फत कोरोना भाइरसको परिक्षण शुरु, पहिलो पटक परिक्षण गरिएका ११ जनाको रिपोर्ट नेगेटिभ

दाङमा कोरोना भाइरसको सफल परिक्षण भएको छ । पहिलो पटक पिसीआर प्रविधिमार्फत गरिएको कोरोना भाइरसको परिक्षण रिपोर्ट शत प्रतिशत सफल देखिएको छ । यो संगै अब कोरोना परिक्षणको लागि भैरहवा वा काठमाडौं स्वाब परीक्षणको लागि पठाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले पहिलो पटक सोमवार आफैले परीक्षण गरेका स्वाबहरुको रिपोर्ट सार्वजनिक गर्दै त्यस्तो कुरा बताएका हुन् । प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले विविधकारण केहि ढिलो भएपनि पिसीआर मेसिनद्धारा गरिएको पहिलो परीक्षण सफल भएको बताइन् । पहिलो पटक गरिएका सबै ११ जनाको रिपोर्ट नेगेटिभ आएको पनि उनले जानकारी दिइन् ।

जिल्लामै गरिएको पहिलो परीक्षण रिपोर्ट आएपछि थप विश्वसनियताको लागि पुनः परिक्षण गर्न स्वाब भैरहवा पठाइएको थियो । दुबै ठाउँको नतिजा एउटै आएपछि बल्ल प्रतिष्ठानको रिपोर्ट सार्वजनिक गरिएको छ । प्रतिष्ठानमा नयाँ मेसिन ल्याइएको हुँदा शतप्रतिसत विश्वसनियताको पुनः परीक्षणको लागि भैरहवा पठाइएको भण्डारीले जानकारी दिइन । प्रतिष्ठानको रिपोर्ट आइतवार नै आइसकेको भएपनि त्यो सार्वजनिक नगरी पुनः क्रसचेकका लागि भैरहवा पठाइएको भण्डारीले बताइन् ।

रिपोर्ट नेगेटिभ आएका ११ जना सबैलाई सोमवार नै डिस्चार्ज गरिएको छ । तर, प्रतिष्ठानमा सोमवार भर्ना भएका थप ६ जना विरामीको स्वाब संकलन गरिएको छ । त्यस्तै तुलसीपुरको वेलझुण्डीस्थित कोराना विशेष अस्पतालले पनि थप ४ जनाको स्वाव परीक्षणका लागि प्रतिष्ठानमा पठाएको छ । उनीहरु सबैको रिपोर्ट बेलुका सम्म आउने संभावना उपकुलपति भण्डारीले व्यक्त गरिन् । यसअघि स्वाब परीक्षणको लागि दाङबाट काठमाडौं र भैरहवा पठाउनु पर्ने बाध्यता थियो । हालसम्म जिल्लामा एकसय जना जतिको स्वाबको परीक्षण भइसकेको छ ।

प्रतिकृया दिनुहोस