आज अक्षय तृतीया अर्थात सातु खाने दिन

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍.डा. रामचन्द्र गौतमकाअनुसार यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो । उनकाअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

शास्त्रमा ‘शरीर रक्षं खलु धर्म साधनम्’ अर्थात् शरीरको रक्षा गरेर मात्रै धर्म साधन गर्न सकिन्छ भन्ने उक्ति पाइन्छ । त्यसैले यो पर्व शरीर स्वास्थ्यमा ख्याल गर्ने पर्वको रुपमा समेत मान्ने गरिन्छ ।

उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारकोरुपमा जौको सातु र सर्वत पानी खाने गरिएको गौतम बताउँछन् ।

किन रोजियो जौ र सर्वत ?

जौ र सर्वत रोज्नुको पनि विशेष महत्व रहेको बताइन्छ । इतिहासकारहरूका अनुसार यो पर्व वैदिक काल(१५ सय इसापूर्वदेखि १००० इसापूर्वसम्म) र महाकाव्य(नौ सय इसापूर्व) कालदेखि नै चलेको पाइन्छ । सो समयमा जौ नेपाल लगायत भारत वर्षमा सबभन्दा मुख्य उब्जाउ हुने खेती थियो ।

त्यतिबेला नै विभिन्न यज्ञ यज्ञादि कर्महरूमा समेत धेरै उपलब्ध हुने हिसाबले जौको प्रयोग हुन थाल्यो । सकयक्रमसँगै बिस्तारै जौको उत्पादन कम हुन थाल्यो । त्यसपछि पुरानो परम्परा जोगाउनको लागि मात्रै भएपनि यसलाई एउटा पवित्र अन्नको रुपमा मान्न थालियो । जुन परम्परा अहिलेसम्म चल्दै आएको इतिहासकारहरूको मत छ ।

अक्षय तृतीयाको पौराणिक मत

अक्षय तृतीयाको पौराणिक इतिहास महाभारत कालदेखिकै पाइन्छ । जब पाण्डवहरु १२ वर्ष निर्वासनमा थिए, एक दुर्वासा ऋषि उनीहरूको कुटीमा आए । उनीहरूको कुटीमा आएका उनलाई द्रौपदीले भक्तिपूर्वक सत्कार गरिन् । जे छ त्यही खान दिइन् । यही सत्कारबाट खुसी भएका दुर्वासाले द्रौपदीलाई एउटा अक्षय भाँडा प्रदान गरिन् ।

भाँडा दिँदै दुर्वासाले द्रौपदीलाई अक्षय तृतीयाको महत्वको बारेमा समेत बताएर गएका थिए । यस दिन पृथ्वीमा जो कोहीले विष्णुलाई विधि विधानले पूजा गर्छ वा चना, सातु, मौसमी फल, कपडा र पानीले भरिएको घडा दान गर्छ उनको घरको भण्डार सधैं पूर्ण रहनेछ । त्यही कथाको आधारमा यो पर्वको महत्व बढ्न गएको हो ।

प्रतिकृया दिनुहोस