लकडाउनका कारण अवरुद्ध खोप कार्यक्रम तुलसीपुरमा शुरु 

तुलसीपुर, वैशाख १२ । एक महिनादेखि अवरुद्ध रहेको खोप कार्यक्रम तुलसीपुरमा सुरु भएको छ । वालवालिकालाई  विभिन्न रोगबाट जोगाउन  सरकारले नियमित खोपहरु लगाउँदै आएको भएपनि लकडाउनका कारण एक महिना यता त्यो बन्द भएको थियो । खोप लगाउँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने खतरा हुने भन्दै अवरुद्ध भएको थियो ।  जनस्वास्थ्य शाखाका निरिक्षक विमल केसीले उच्च सतर्कता अपनाएर खोप कार्यक्रम सुरु गरिएको जानकारी दिएका छन् ।  स्वास्थ्यकर्मीलाई  पञ्जा, मास्क र स्यानेटाइजरको व्यवस्था गरिएको उनले बताए । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यन्त संवेदनशिल मानिने बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न सुरक्षित रहेर खोप कार्यक्रम संचालन गरिएको जानकारी दिए । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बिसिजी खोपलाई प्रभावकारी मानिएको छ । जन्मिने वित्तिकै लगाउनुपर्ने बिसिजीदेखि विभिन्न आठ प्रकारका खोपलाई तुलसीपुरले फेरि निरन्तरता दिएको उनले बताए । 
राप्ती प्रादेशिक अस्पताल तुलसीपुर , वडामा रहेका स्वास्थ्य केन्द्र लगायत विगतमा खोप  दिने ५० वटै केन्द्रमा १० गतेदेखि खोप सुरु भएको उनले जानकारी दिए । खोप लगाउने कार्यक्रम १५ गतेसम्म जारी रहने निरिक्षक केसीले जानकारी दिएका छन् ।  बिसिजी, पेन्टा, ओपिभी, एफआइपिभी, पिभिसी, एमआर तथा जेई र टिटी नामका खोप लगाउन फेरि सुरु गरेको उनले बताए । बच्चा जन्मेदेखि २३ महिनासम्म उल्लेखित खोपहरु विभिन्न समयमा लगाउने गरिन्छ । तुलसीपुर नगरभित्र खोप लगाउने वालवालिकाको संख्या ३ हजार ६ सय १० रहेको केसीले जानकारी दिए । दश गते यता २ हजार १ सय ६६ जनाले खोप लगाइसकेको केसीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस