दाङका दल र अधिकारीहरुसँग मुख्यमन्त्रीको भिडियो संवाद

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले दाङस्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासंग एकीकृत भिडियो संवाद गर्नुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्री ज्यूले गर्नुभएको यो सातौं भिडियो संवाद हो । आजको सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी हुनुभयो ।

कांग्रेस जिल्ला सभापति कीर्ति बहादुर खडका इन्टरनेट समस्याले भिडियो संवादमा सहभागी हुन नसकेको बताइएको छ  । भिडियो संवादमा सहभागीहरुबाट दाङमा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।
उहाँले स्वास्थ्य सामग्री उपलब्ध भएकोले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउ गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिनुभयो । उहाँले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन पैसा पठाएकोले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो ।
दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र राहत एकद्दार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्रीले आग्रह गर्नुभयो । दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकोले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न, पीडितले पाउने र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उहाँले जानकारी गराउनुभयो ।
भैरहवामा प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताउनुभयो । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो ।
यसैबीच मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोग परिक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परिक्षणको गति तीब्र बनाउन निर्देशन दिनुभएको छ ।
उहाँले अब अझै कामको गति बढाउनुपर्ने र आपसी समन्वय बढाएर नतिजा निकाल्नुपर्ने बेला आएको बताउनुभयो ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री,प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव,महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा उहाँले भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो ।
“अब अझै कामको गति बढाऔं्, तत्काल कामको नतिजा चाहिएको छ, अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परिक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ—उहाँले भन्नुभयो । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसियु सहितको कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको छ ।
कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र विरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।
बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट,निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम, समस्या र गर्नुपर्ने कामबारे जानकारी गराउनुभएको थियो ।

प्रतिकृया दिनुहोस