विप्लव समूहका नेता अदालतको गेटबाटै पुनः पक्राउ, रिहाई -पक्राउ गर्न अदालत र प्रहरीको जुहारी

घोराही, ३ बैशाख । दाङ देउखुरी जिल्ला अदालतको आदेशमा रिहा भएका विप्लव नेतृत्वको नेकपाका तीन जना नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरी बाँके लगेको छ । जिल्ला अदालतको आदेशमा मंगलबार धरौटीमा रिहा भएका केन्द्रीय सदस्यद्वय केशबहादुर बाँठा 'सुवास'  र सन्तोष सुवेदी 'प्रयास' तथा रोल्पा विशेष जिल्ला सचिव पोष्टमान घर्तीलाई प्रहरीले अदालतको गेट अगाडिबाट पुनः पक्रेको हो । सुवेदी सत्तारुढ नेकपाका नेता झक्कु सुवेदीको छोरा हुन् ।

उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सेक्रेटरी भगवान राजले पुष्टि गर्दै सरकारी कदमको विरोध गरे ।  राज्यविरुद्ध संगठित अपराधको अभियोग लागेका उनीहरुलाई जिल्ला अदालतले जनही १५/१५ हजार रुपैयाँमा रिहा गर्न आदेश दिएको थियो ।

उनीहरुलाई गत पुस ७ गते पनि दाङ देउखुरी जिल्ला अदालतले जनही १५ / १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उनीहरुले प्रहरीले पुनः पक्रने सूचना पाएको भन्दै रिहा हुन अस्वीकार गरेका थिए ।

त्यसपछि उनीहरुलाई तुलसीपुर कारागारमा लगेर राखिएको थियो । केही दिनमै प्रहरीले रोल्पा पुर्यायो । रोल्पा जिल्ला अदालतले जनही ३०/३० हजार धरौटीमा रिहा गर्न आदेश दिए पनि उनीहरुलाई पुनः प्रहरीले पक्रेर दाङ ल्याएको थियो ।

सुरुमा उनीहरु गत असोज अन्तिम साता भारतसँग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका मुङ्ग्रैटा भन्ने स्थानबाट पक्राउ परेका थिए । यी तीनै जना त्यतिबेला नेत्रविक्रम चन्द 'विप्लव'का दाजु एवम् पार्टीका मध्यपश्चिम कमाण्डर वीरजंग, राप्ती व्यूरो इन्चार्ज सुवास बाँठालगायतसँगै पक्राउ परेका २१ जना मध्येका हुन् । सो समूहका केही नेताहरु अझै पनि कारागारमै रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस