ताजा खबर :

समाचार

    फेक न्यूजवाट सतर्क रहौं

     
    अर्जुन गिरी
    फेक न्यूज अर्थात झुटो समाचार । पछिल्ला वर्षहरुमा यसको जगजगी छ । चाहे अमेरिकि राष्ट्रपतिय निर्वाचनमा होस् वा भारतीय निर्वाचनमा नै होस् । चर्चा फेक न्यूज अर्थात झुटो समाचारकै छ । उसोत शुरु शुरुमा प्रिन्ट माध्यमहरु पनि फेक न्यूजको शिकार भएका थुप्रै चर्चीत घटनाहरु छन् ।
    नेपालमै पनि फेक न्यूजवाट पीडित हुनु परेका गम्भीर घटनाहरु छन् । अखवार, रेडियो र टेलिभिजन हुदै अनलाइन सम्म आइपुग्दा फेक न्यूजले विश्वभर नयाँ वहस जन्माइदिएको अवस्था छ र सवैको टाउको दुखाई भएको छ । 
    फेक न्यूजकै कारण विश्वको उत्कृष्ट लोकतान्त्रीक शक्तिशाली राष्ट्र अमेरिकामा समेत सामाजिक सञ्जालमा नियन्त्रणको वहस शुरु भएको छ । जसलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत साथ दिइरहेका छन् । उसोत राष्ट्रपतिय निर्वाचनताका हिलारी क्लिण्टनसंग सम्वन्धित गलत समाचारको आज पर्यन्त टिप्पणी भैरहेको छ । 
     
    व्रिटेनको अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानियालाई ‘सेक्स वर्कर’ भनिएकोमा माफी माग्दै जरिवाना तिर्न राजी भएको पछिल्लो समाचार छ ।
     
    डेली मेलको अनलाइन संस्करणले मेलानियाको मोडलिङ करियरबारे लेख छापेको थियो जसमा ‘एस्कर्ट’ अर्थात् सेक्स वर्करको रुपमा मेलानियाले काम गरेको उल्लेख थियो । अमेरिकी राष्ट्रपति चुनावताका प्रकाशित उक्त लेख पछि हटाइएको थियो । त्यसविरुद्ध मेलानियाले अदालतमा मानहानीको मुद्दा दायर गर्दै १५ करोड डलर क्षतिपूर्ति माग गरेकी थिइन् । अखबारले पनि गल्ती स्वीकार्दै हर्जाना तिर्न राजी भएको जनाएको छ । न्यूजकै रुपमा अनलाईनमा आएको यो समाचार अन्नततः फेक अर्थात झुठो सावित हुन पुग्यो । 
    नजिककै छिमेकि देह भारतमा पनि फेक न्यूजले त्राहि मच्चाएको छ । उत्तरप्रदेश, पंजाव लगायत पछिल्लो पटक हालै सम्पन्न निर्वाचनहरु पुर्व झुटा समाचारहरु भाइरल वनाएर मतदाता झुक्याएको आरोप दलहरुले लगाएको कुरा सर्वविदित्तै छ । चाहे आदित्य नाथको कुरा होस् वा राहुल गान्धी वा अखिलेसकै कुरा होस् । उनीहरु फेक न्युजवाट प्रताडित वन्न पुगे ।
    नेपालको सवालमा त हामी सवै जानकार छौ, यहाँ पनि फेक न्यूजको प्रभाव वढ्दो छ । विभिन्न अनलाईन लिंकवाट फेसवुकमा पोष्ट गरिएर आम पाठकवीच भ्रम सिर्जनागर्ने काम यहाँ भैरहेको छ । फेक न्यूजकै कारण अनलाईन मिडिया नियन्त्रणका लागि सरकारले भित्र भित्र आफ्नो अंकुश कृयाकलाप अघि वढाइरहेको अवस्था छ । जसको हामी कडा रुपमा विरोध गरिरहेका छौ । 
    खासगरि अनलाईन सञ्चार माध्यमहरुवाट फेक न्यूज प्रभावी भैरहेको बुझाई राज्यको छ । फेसवुक, ट्वीटर, ह्वाट्स एप, भाइवर लगाएतका सामाजिक सञ्जालहरु मार्फत फेक न्यूज प्रभावी भैरहेको बुझाई राज्यतहमा छ । यस्तो विकराल अवस्थालाई मध्यनजर गर्दै सवैभन्दा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसवुकले गलत सन्देशहरू निरुत्साहित गर्न नयाँ कदम चालेको छ ।
    बच्चादेखि वृद्धसम्म फेसबुकको लोकप्रियता बढ्दो छ । बढ्दो लोकप्रियतासँगै यसमा विभिन्न फेक (झूटा) खबर पनि प्रचार भइरहेका छन् । फेसबुकले सबैभन्दा पहिला आफ्नो ट्रेण्डिङ खबरको सेक्शनमा महत्वपूर्ण परिवर्तन गरेको छ । फेसबुकको माध्यमबाट जाली खबर प्रसार नहोस् भनेर कम्पनीले यस्तो कदम चालेको हो ।
    फेसबुकले सबैभन्दा चर्चित खबरलाई ट्रेण्डिङ फिचरको रूपमा सार्वजनिक गर्ने गरेको थियो । तर, यसलाई कम्पनीले परिवर्तन गरेको छ । अबका दिनमा विश्वसनीय स्रोतबाट प्राप्त भएका खबरमात्र ट्रेण्डिङ लिष्टमा प्रकाशित हुनेछन् । ट्रेण्डिङ लिष्टलाई फेसबुकले सन् २०१४ मा सार्वजनिक गरेको थियो । यसपछि फेसबुकलाई जाली खबरलाई बढावा दिएको जस्ता विभिन्न आरोप लागेको थियो । यसपछि अटोमेटेड सिष्टम लागू गर्यो, जसका कारण सबैभन्दा ध्यानाकर्षण गर्ने खबर यस लिष्टमा देखिन थाल्यो । तर, अहिले यस प्रणाली पनि परिवर्तन गरी फेसबुकले विश्वसनीयतालाई आधार बनाएको छ । अब विश्वसनीय सूत्रबाट प्राप्त भएका खबरमात्र फेसबुकको ट्रेण्डिङ लिष्टमा देखिनेछ । फेसवुकले यस्तो गर्नुको कारण फेक न्यूजको हैरानी नै हो । 
    केहि समय पहिले नेकपा एमाले मेची महाकाली अभियानमा थियो, ठिक त्यहि अवस्थामा एउटा न्यूज अनलाइनमा भाइरल वन्यो, मेची महाकाली अभियानका लागि एमालेले भारतीय दूतावासबाट ३ करोड ७७ लाख लिएको खुलासा । हुनत यो फेक न्यूजको औपचारिक खण्डन गर्न एमालेले चासो दिएन तर अनौपचारिक रुपमा एमाले स्रोतले यसलाई फेक न्यूज भन्यो । कुनै अनलाईनको समाचारलाई फेसवुकमा पोष्ट गरिएको यो फेक न्यूज नेपाली पाठकमा भाइरल वन्यो । उसोत  ठिक यस्तै तवरले नेपाली काँग्रेस दुइ चिरा, देउवा एकातीर शशांक अर्को तीर भनेर फेक न्यूज आयो । यो समाचारको सार काँग्रेस पार्टी पुनः फुटेको र एउटाको नेतृत्व शेरवहादुर देउवाले गर्ने र अर्को समूहको नेतृत्व शशांक कोइरालाले गर्ने भन्ने थियो । आम पाठकलाई भ्रम छर्ने यो समाचार झुटो थियो तर कतिपय फेसवुक प्रयोगकर्ताहरु यो समाचारवाट झुक्किए । पुष्टी नै नगरी लाङटाङ क्षेत्रमा ज्वालामुखी विष्फोट भएको समाचार प्रसारण, अनुजा बानियाँद्वारा रकम फिर्ताको काल्पनिक कथा लगायत झुठा समाचारका केहि उदाहरणहरु हुन् । प्रायोजित तथा काल्पनिक समाचार वा बढाईंचढाईं गरिएका खबरहरु झुठा खवरहरु हुन् । सञ्चारकर्मीहरुमा व्यवसायिक दक्षताको अभाव तथा समाचारको सत्यता पुष्टी गर्ने अभ्यासको कमीका कारण बेलाबेलामा हामी सञ्चारकर्मीहरु विवादित भइरहेका हुन्छौ ।
    पर्याप्त सुचनाको अभाब, सृजनशीलताको कमी र सुचना लुकाउने सरकारी तथा गैरसरकारी रवैयाका कारण हाम्रा समाचारहरु अपरिपक्व तथा फितला बनिरहेको अवस्थामा पछिल्ला फेक न्यूज अर्थात भुटा समाचारले वास्तवमै गम्भीर वनाएको अवस्था छ । फेक न्यूजको कारण विगतका सञ्चार सम्वन्धि आचारसंहिता र गोपनीयता तथा गालीवेइज्जती नियन्त्रण सम्वन्धी कानून के वर्तमान अवस्थामा पर्याप्त छन ? भन्ने गम्भीर प्रश्न उव्जाइएको छ । साइबर प्रविधिले सञ्चारलाई अगाडि बढाउँदै गर्दा परम्परागत नियन्त्रणका ढाँचा पर्याप्त नभएको तर्क अघि सारिदै छ । अतः स्वच्छाचारी हाम्रो प्रवृतिलाई आत्म नियन्त्रण गरि मिडिया नियन्त्रणका लागि अघि सार्न खोजिएका प्रयासहरुलाई निस्तेज पार्नु आजको टड्कारो खाँचो हो । यसका लागि हामीले हाम्रा परम्परागत आचरणहरु सुधार्नु आवश्यक छ । हामीले हाम्रा आचार संहिताहरुको पूर्ण पालना गर्नु जरुरी छ । प्रेस काउन्सिल, निर्चाचन आयोगद्धारा जारी गरिएका आचार संहिताहरुको पूणपालना गरेर नेपाली पत्रकारितालाई अझ विश्वसनिय वनाउनु आवश्यक छ । 
    दक्षिण एशियाली राष्ट्र अन्तरगतको नेपालमा एउटा पत्रकारलाई कुनै दल बिषेश भन्दा पर रहन सक्ने अवस्था ज्यादै न्यून छ, अर्थात हामी पत्रकारहरुमा पनि कुनै न कुनै दलको प्रभाव छ, त्यो बिल्कुल गलत कुरा पनि होइन । तर हामीले हाम्रा सञ्चार माध्यमहरुमा आफ्ना कन्टेन्टहरु कुन तवरले प्रस्तुत गरिरहेका छौ भन्ने महत्वपूर्ण कुरा हो । हामी व्यवसायिक पत्रकार भएर सवैको विश्वसनिय वन्ने कि कुनै दल बिषेसको प्रवक्ता वनेर सीमित घेरामा रहेने भन्ने छनौटको अधिकार हामी सितै छ । तर हाम्रा कामहरु र हाम्रा अभ्यासहरुले सिंगो पत्रकारिता क्षेत्रको विश्वसनीयता माथी शंका गर्ने अवस्था आउछ भने त्यो गम्भीर लाज सरम्को कुरा हो । अतः पत्रकारितालाई व्यवस्थित तथा विश्वसनीय वनाउन हामीले हाम्रा आचार विचारमा ध्यान दिऊ । हामीले हाम्रा आचार संहिताहरुको पालनामा ध्यान दिऊ ।
     
    के छ आचार संहितामा ?
     
    नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले आफ्नो आचारसंहितालाई अपडेट गर्दै नयाँ आचार संहिता २०७३ जारी गरेको छ । संसोधीत पछिल्लो यो आचार संहिताले केहि थप गर्दै पत्रकार र सञ्चार गृहलाई सजग वनाएको छ । उसोत निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आचार संहिता जारी गरेको छ । पछिल्लो आचार संहितामा सामाजिक सञ्जालहरुको वढ्दो प्रयोगलाई पनि समेटिएको छ । 
    आफूलाई पत्रकार भन्न रुचाउने तर चार तारा, सूर्य अनि हँसियाँ हथौडा चिन्हलाई आफ्नो वालमा पोष्टिंग गर्दै सामाजिक सञ्जाल मार्फत सम्वन्धित दलका कार्यकर्तालाई उपस्थितीका लागि प्रवक्ता जस्तै वनेर आह्वान गर्ने परिपाटी बढ्दै गरेको परिस्थितीलाई ध्यान दिदै निर्वाचन आयोगले आफ्नो आचार संहिताको 
    परिच्छेद नम्वर ५ को १४ मा स्पष्ट सचेत पारेको छ कि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा आधारहीन सामग्री एसएमएस, फेसबुक, ट्वीटर, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण वा सम्प्रेषण नगर्ने भनेर । यस वाहेक राजनीतिक दल तथा उम्मेदवारलाई समान अवसर दिनु पर्ने, विभिन्न जातजाति सम्प्रदाय, लिङ्ग, धर्म, भाषा–भाषी र क्षेत्रबीचको सम्बन्ध र सद्भावमा खलल नपर्ने गरी सूचना वा समाचार प्रकाशन, प्रशारण वा सम्पे्रषण गर्ने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रशारण वा सम्पे्रषण गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको सम्बन्धमा आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी र सशुल्क विज्ञापन भएको जनाउने गरीे निर्वाचनसम्बन्धी विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्नेतर मौन अवधिमा त्यस्तो विज्ञापन प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्न पाईने छैन भन्दै निर्वाचन आयोगले आफ्नो आचार संहितामा स्पष्ट व्याख्या गरेको छ ।  .
    उसोत आयोगले उम्मेदवार वा राजनीतिक दलको निर्वाचनसम्बन्धी प्रकाशन, प्रशारण वा सम्पे्रषण गरेको प्रत्येक सूचना वा विज्ञापनको मिति र समयको अभिलेख अद्यावधिक राख्नुपर्ने, एवं निर्वाचन तथा मतदाता शिक्षा लगायतका सामग्री स्थानीयस्तरमा प्रयोग भइरहेका सबै भाषालाई समेट्ने गरी समानुपातिक आधारमा प्रकाशन, प्रशारण वा सम्प्रेषण गर्ने भन्दै आम सञ्चार माध्यमका लागि आचार संहिता तय गरेको छ । यस वाहेक सामुदायिक रेडियो प्रसारक संघको पनि आफ्नै आचार संहिता छ, जुन आचार संहिताको अक्षरस पालना गर्न उस्ले आफ्ना सदस्य स्टेशनहरुलाई अनुरोध गरिसकेको छ । 
    सामुदायिक रेडियो प्रसारक संघले पनि खासगरि कुनै दल विशेषको मुखवाणी वा प्रचार—प्रसारणको माध्यम बन्न सक्ने सवालमा सम्वेदनसिलता अपनाउन अनुरोध गर्दै आफ्ना सदस्य स्टेशनलाई  कुनै पनि दल वा पक्षबाट प्रभावित वा पूर्वाग्रही भएर एक पक्षीय सामग्री प्रसारण नगर्न भनेको छ  । समाजमा दुर्भावना, झैझगडा, मनमुटाव, हिंसा र उत्तेजना फैलाउने सामग्री तथा राष्ट्रिय एकता, हित र अखण्डतामा आँच आउने कुनै पनि सामग्री प्रसारण नगर्न भनेको छ । कुनै पनि विवादास्पद विषयमा एकपक्षीय विचार वा भनाइ राखेर समाचार प्रसारण गर्दा आफ्नो लोकप्रियता घट्ने कुरालाई ध्यान दिनका लागि आचार संहिता मार्फत सदस्य स्टेशनलाई उस्ले सजग वनाएको छ । तसर्थ फेक न्यूजलाई निरुत्साहित गर्न आचार संहिताको पालना गरेर गिर्दो अवस्थामा रहेको हाम्रो छविलाई जोगाउनु छ । झुटा समाचारहरुमा निर्वाचनको समयमा त अझ वढि सम्वेदनसिलता अपनाउनु पर्छ । 
     
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal