समाचार

    कोइलाबास काकाकुल बन्न सुरु

    तुलसीपुर ४ बैशाख/
    दाङको कोइलाबास यो वर्ष पनि काकाकुल बन्न सुरु भएको छ । जिल्लाको नाकास्थित स्थानीयदेखि सरकारी कार्यालयका कर्मचारीहरुले समेत पिउने पानीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहदै आएको छ ।कुनै समय देशकै दोस्रो ठूलो भन्सारका रुपमा परिचित दाङको कोइलावास नाकाबासीहरुले पिउने पानीका लागि पनि भारतीय सुरक्षा बलको क्याम्पको शरणमा पुग्नुपर्ने बाध्यता रहेको छ । 
    कोइलाबासका लागि पिउने पानीको मुख्य स्रोत मानिएको कोइलावास खोला सुकेपछि त्यहाँका स्थानीयहरुलाई पानीको समस्या भएको छ । खोलामा भएको अनियन्त्रित ढुङ्गाजन्य वस्तुको उत्खनन्का कारण पानीको सतह सुक्दा त्यहाँ रहेका स्थानीय र सरकारी कार्यालयका कर्मचारीहरुलाई पिउने पानीको समस्या उत्पन्न भएको छ ।   
    खोलामा गएर पानी खोजेर कपडा धुनुपर्ने बाध्यता रहेको छ भने खानेपानीका लागि भने भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जानैपर्ने बाध्यता रहेको स्थानीयहरुले सुनाउँछन् । वर्षापछिको चार महिना कुवामा पानी भए पनि बाँकी समय पिउने पानीका लागि भारतीय सीमा सुरक्षा बलको क्याम्पमा पुग्नैपर्ने बाध्यता छ ।
    कोइलावासमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा सुरक्षा प्रहरी चौकी, कोलावास भन्सार कार्यालय, कोइलावास गाविस कार्यालय, ईलाका हुलाक कार्यालयलगायतका सरकारी कार्यालयका कर्मचारीहरु पिउने पानीका लागि सिमापारी रहेको भातरीय सीमा सुरक्षा बलको क्याम्पमा जाने गरेका छन् ।
    त्यस्तै सथानीयबासीहरु समेत पिउने पानीका लागि सीमा सुरक्षा बलको क्याम्पको शरणमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । गाउँमा पिउने पानीका लागि भएका धाराहरुसँगै कुवाहरु समेत सुक्दै गएपछि माघ महिनादेखि भारतीय सीमा सुरक्षा बल कहाँ गएर पानी ल्याउने गरेको स्थानीय तुलसा डंगोलले बताउनुभयो । कुवासँगै खोलाहरुमा पानी सक्न थालेपछि माघ महिनाको अन्तिमतिरबाट भारतीयमा गएर भातीय सिमा सुरक्षा बलसँग पानी ल्याएर खाने गरेको डंगोल बताउनुहुन्छ । गाउँमा भएका खानेपानीका कुवाहरु सुकेपछि पानी खानाका साथै कपडा धुन, नुहाउनलाई समेत समस्या परेको छ ।
    केही वर्ष पहिले खोलाहरुबाट अनियन्त्रित रुपमा ढुङ्गाहरु निकाल्नुका साथै सीमापारि भारतमा रहेको खोलाको बाँध भत्कदा खोलाको सतह घट्दै जाँदा गाउँमा रहेका कुवाहरुको सतहभन्दा तल खोलाको सतह गएपछि कोइलावासमा रहेका धारा र कुवाहरु हेर्नका लागि मात्र भएका छन् । त्यहाँका ५० घरपरिवारहरु खानेपानीका लागि गाउँमा कुनै श्रोत नभएपछि भारतीय सीमा सुरक्षा बलको भर पर्दै आउनुभएको छ । खानेपानीको समस्या समाधान गर्नका लागि बजेट आएको छ, भन्ने सुन्ने गरे पनि अहिलेसम्म कतैबाट काम हुन नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal