श्रीकृष्णको जन्मदिन मनाईदै । लाखेनाँचको बिर्सजन पनि गरिदै

आज भाद्र कृष्ण अष्टमी, घरघर तथा कृष्ण मन्दिरमा भव्यताका साथ कर्मका पुजारी भगवान् कृष्णको जन्मदिन मनाइँदैछ । महाशिवरात्रि, महाष्टमीको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र कृष्णजन्माष्टमीको मोहरात्रि गरी यी चार रातलाई हिन्दू धर्मशास्त्रमा महत्वको रात मानिएको छ । 
द्वापरयुगमा पिता वासुदेव र माता देवकीको सन्ततिका रूपमा कृष्णको जन्म भएको शास्त्रमा वर्णित छ । ज्योतिष शास्त्रमा सूर्य ग्रहबाट भगवान् राम अवतार, मङ्गल ग्रहबाट नृसिंह अवतार र चन्द्र ग्रहबाट कृष्णको जन्म भएको वर्णन छ । आज शुक्रबार मध्यरातदेखि शनिबार बिहान ३ः३० बजेसम्म अष्टमी परेको छ । 
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । 
यस अवसरमा, आज तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ दुधेना स्थीत कृष्णमन्दीर ठूलो मेला लागेको मन्दीर ब्यबस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ बेल्टाकुराको कृष्ण मन्दीरमा पनि मेला लाग्नुको साथै लाखेको नाँचको बिर्सजनको तयारी गरिएको छ । यस पर्वका अवसरमा दाङका पालिकाहरुले शैक्षिक संस्थामा बिदा दिएका छन् ।

प्रतिकृया दिनुहोस