सञ्चालन हुन सकेन ‘तुलसीपुर कोसेली घर’

दाङ  । दाङको तुलसीपुरमा स्थापना भएको कोसेली घर प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । स्थानीय हस्तकला तथा विभिन्न उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको कोसेली घरमा अहिलेसम्म अपेक्षाकृत रूपमा आन्तरिक तथा बाह्य पर्यटक जान सकेका छैनन् ।

कोसेली घर अहिले नाममा मात्र सीमित भएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले बताए । बजेट अभावमा कोसेली घरलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ‘हामीलाई उद्योग वाणिज्य महासङ्घले बजेट उपलब्ध गराउने सहमति भएको थियो,’ रिजालले भने, ‘सरकारले पनि ध्यान दिन सकेको छैन ।’

कोसेली घरमा अहिलेसम्म ७५ हजार रुपैयाँ मात्र लगानी भएको छ । उद्योग वाणिज्य महासङ्घले कोसेली घरका लागि ५ लाख रुपैयाँ दिने सहमति भएको थियो । तर, सहमतिअनुसार रकम आउन नसकेको रिजालले बताए । प्रारम्भिक रूपमा कोसेली घर सञ्चालनका लागि न्यूनतम ५ लाख रुपैयाँ लाग्ने भए पनि महासङ्घबाट डेढ लाख रुपैयाँ मात्र स्वीकृत भएको थियो । ‘यसमध्ये पनि अहिले ७५ हजार रुपैयाँमात्र प्राप्त भएको छ,’ उनले भने,  ‘तुलसीपुरमा कोसेली घरको आवश्यकता भए पनि सञ्चालनमा कठिन देखिएको छ ।’

स्थानीय उत्पादनको प्रवर्द्धनका लागि कोसेली घर स्थापना गरिएको रिजालले बताए । ‘हामीले जुन उद्देश्य राखेर कोसेली घर निर्माण गरेका थियौं, त्यसअनुसार उपलब्धि हासिल हुन सकेको छैन,’ उनले भने, ‘यदि दाङका पर्यटन प्रवद्र्धन गर्ने हो भने कोसेली घरमा राज्य तथा सम्बन्धित निकायले लगानी गर्न जरुरी छ ।’

कोसेली घरमा स्थानीयस्तरमा हातबाट उत्पादन हुने विभिन्न सामानको विक्री गरिने रिजालले जानकारी दिए । कोसेली घरमा दाङका थारू समुदायले परम्परागत रूपमा उत्पादन गर्ने ढकिया राख्ने योजना रहेको सङ्घले बताएको छ । विशेषगरी चोयाबाट उत्पादन हुने सामान राखिनेछ । दाङको उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय करण गर्न कोसेली घरको भूमिका महŒवपूर्ण हुने भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा चर्चामै सीमित हुन पुगेको रिजालले बताए । स्थानीय उत्पादनको प्रवद्र्धन गर्नु राज्यको पनि दायित्व भएकाले यसमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

कोसेली घरमार्फत उवासङ्घले उत्पादक र खरीदकर्ताबीच पुलको काम गर्ने योजना बनाएको थियो । बजेट अभावका कारण कोसेली घरका लागि कर्मचारीसमेत राख्न सकिएको छैन । अहिले उद्योग वाणिज्य सङ्घकै कर्मचारीले कोसेली घरको व्यवस्थापन गरिरहेका छन् । ‘यही कोसेली घरलाई वास्तविक रूपमा सञ्चालन गर्ने हो भने तुलसीपुरको मुख्य बजार क्षेत्रमा स्थापना गर्नुपर्छ,’ रिजालले भने, ‘हामीले कोसेली घरलाई व्यवस्थित गर्न अहिले उद्योग वाणिज्य महासङ्घसँग निरन्तर पहल गरिरहेका छौं ।’ 

पाण्डव शर्मा अभियान

प्रतिकृया दिनुहोस