प्रविधि र पत्रकारीता

पूर्ण केसी ‘मुस्कान’

आजको युग भनेको सूचना तथा सञ्चारको प्रविधिको युग हो । सञ्चार क्षेत्रमा आएको परिवर्तनले चेतनाका साथै समग्र मानवीय जीवनमा नै धेरै उथलपुथल ल्याएको छ । यसबाट पत्रकारिता पनि अछुतो रहन सक्ने भएन, त्यसैले आजको पत्रकारिता दिन प्रतिदिन नयाँ-नयाँ सूचना प्रविधिको प्रयोगसँगै विकसित हुँदै गएको छ ।

अनलाईन मिडियालाई ब्यवस्थित बनाउने हो भने निश्चित दायराभित्र रहेर अनलाईन पत्रकारिता ऐनलाई सबै अनलाईन पोर्टलले अबलम्बन गर्न आवश्यक छ । पाठकहरुले, जुन अनलाईन पोर्टलमा पहिले समाचार पढ्यो त्यसलाई आधिकारिक मान्ने प्रचलन छ । उनीहरु आधिकारिक लेखक र मिडिया खोज्नतर्फ लाग्दैनन् । कतिपय पाठकहरुले अनलाईन र ब्लग एउटैरुपमा बुझ्ने गरेको पाईन्छ । अनलाईन र ब्लग फरक कुरा हो, भनेर पाठकलाई बुभाउन सकेमा आगामी दिनमा अझै अनलाईन पत्रकारिताको विकास हुने थियो । व्यावसायिक अभ्यासको सुरुवात गर्ने बेला आएको छ ।

पछिल्लो समय नेपाल टेलिकम, एनसेल र विभिन्न कम्पनीहरुले सुविधा दिएको सस्तो नेटको कारण र सामाजिक सञ्जाल तथा विभिन्न वेबसाइट भिजिट गर्ने सर्वसाधारणको सङ्ख्या वृद्धिसँगै अनलाईन मिडियाको बाढी आएको छ । अनलाईनमार्फत दु्रत गतिमा सूचनाको आदानप्रदान हुने भएको कारण पनि अनलाईन मिडियाको सङ्ख्यात्मक रुपमा विकास भएको हो । अर्कोतर्फ सरल दर्ता प्रक्रिया, थोरै लगानीमा सञ्चालन गर्न सकिने, छिटो समाचार प्रवाह गर्न सकिने र छिटो प्रतिक्रिया आउने आदि कारणहरुले पनि अनलाईन मिडियातर्फ आकर्षण बढ्दो छ । पलपलमा सूचना सम्प्रेषण गर्न सकिने र एउटा कुनामा बसेर सम्प्रेषण गरेको समाचार विश्वको सबै कुनामा पुग्ने, व्यस्त भएका ब्यक्तिले जतिबेला पनि सूचनाको पँहुचमा हुने गर्दछन् ।

पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाईनको विकास भएपनि यसको लोकप्रियता बढ्दो छ । अनलाईन पत्रकारिताको लागि कम्प्युटरको ज्ञान हुनैपर्छ । त्यस्तै सूचना प्रविधिको जानकारी पनि हुनै पर्छ । अनलाईनमा भाषाको पनि महत्वपूर्ण भूमिका हुने हुँदा अनलाईन पत्रकार भाषामा अब्बल हुनुपर्छ । पत्रकार डिजिटल प्रविधिसँग खेल्न सक्ने हुनुपर्दछ । विश्वमा छरिएर रहेका ब्यक्ति अनलाईलनसँग जोडिन सक्छ ।

आजको युगमा व्यक्ति अथवा समाजका सबै क्षेत्रमा पत्रकारिताको महत्व छ । जीवनको कुनै क्षेत्र पनि पत्रकारिताबाट अछुतो छैन र हुन सक्दैन पनि । विकासशील मुलुकहरुमा पत्रकारिताको महत्व झन बढी हुने गर्दछ । देशलाई निरन्तर प्रगतीपथमा अगाडि बढाउन सबै तह र तप्कालाई झक्झकाई रहनुपर्ने हुन्छ । लोकतन्त्रमा नागरिकका विचारलाई उच्च महत्व दिई राज्यका हरेक निकायलाई खबरदारी गर्ने कार्य पत्रकारिताले गर्ने गर्दछ । नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा मिडियाको अहम् भूमिकाबारे सबैलाई अबगत नै छ ।

वि.सं. १९४२ मा मोतीराम भट्टले गोरखा भारत नामबाट सुरु भएको भनिएको नेपाली पत्रकारिताको इतिहास आजसम्म आईपुग्दा गुणात्मक परिवर्तन भईसकेको छ । विज्ञान प्रविधिको ठूलो विकाससँगैँ पत्रकारिताको स्वरुप र माध्यममा पनि धेरै परिवर्तन आईरहेको छ । सादा कागजबाट सुरु भएको पत्रकारिता अहिले डिजिटल भईसकेको छ । अनलाईन पत्रकारिताको प्रारम्भ सन् १९९० मा भएको हो ।

पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दै गएको छ । छोटो समयमै अनलाईन मिडियाले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौती दिन सक्षम भइसकेको छ । बिस्तारै परम्परागत मिडियाहरु अहिले पूर्णरुपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि अनलाईन पत्रकारिताको विकास तीव्र गतिमा भईरहेको छ ।

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अनलाईन पत्रकारिताको क्र्रज हत्तै बढेको छ । दाङको सन्दर्भमा कुरा गर्दा, यहाँपनि अनलाईनको तीव्र विकास भईरहेको छ । जिल्लामा पनि अनलाईनहरु समाज रुपान्तरणमा जुर्मुराएका छन् । यसभेगमा अनलाईनहरु सकृयताका साथ नागरिकले सहि सूचना पाउनुपर्छ भन्ने कुरामा लागिपरेका छन । तुलसीपुर अनलाईन, दाङ खवर, जागरण अनलाईन, सूचना पत्र अनलाईन, राप्ती टुडेलगायतका अनलाईनहरुले पलपलका खबर नेटको पहुचमा हुने पाठक समक्ष पु-याईरहेका छन । यिनीहरुको बिश्वसनीयता पनि बढेको पाईन्छ ।

जुन अनलाईहरु आज समाचारको खुराक नै बनेका छन तर पनि नेट नहुने ठाउँको लागि अनलाईनहरु पहुँचभन्दा बाहिर छन यो अनलाईनको लागि चुनौतीको रुपमा रहेको छ । पत्रिकाको समाचार पढौला भनेर पर्खाईमा रहने पारखीको लागि भने अनलाईन पोर्टलहरु सफल बनेका छन् । जुन कुरा अनलाईन सञ्चालकहरुको लागि खुसीको कुरा पनि हो तर पनि बिषय सान्र्दभिक खोजी समाचार, सामाजिक दायित्वलाई भने भुल्न मिल्दैन कतिपय तस्बिर समाचारहरुमा अनलाईनहरुले ख्याल पु-याउन जरुरी भने छ ।

साभार तुलसीपुर अनलाइन

प्रतिकृया दिनुहोस