समाचार

    ट्रम्पभन्दा दुई लाख धेरै मत ल्याएर पनि हिलारीले चुनाव हारिन्

    अमेरीकामा बुधबार सम्पन्न राष्ट्रपति निर्वाचन परिणाममा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन रिपब्लिकन पार्टीका उम्मेद्‌वार डोनाल्ड ट्रम्पभन्दा दुई लाख बढी प्रत्यक्ष मत ल्याएर पनि राष्ट्रपति हुनबाट बन्चित भइन्। अर्थात् अमेरिकन मतदाताहरुको सर्वाधिक मत पाउने व्यक्ति राष्ट्रपति नबनेर दोस्रो धेरै मत प्राप्त गर्ने ट्रम्प राष्ट्रपति चुनिए।

    मत गणनाको परिणाम अनुसार क्लिन्टनले ५ करोड ९९ लाख २३ हजार २७ अर्थात् कुल मतको (४७.७० प्रतिशत) मत प्राप्त गरेकी छन्। यस्तै राष्ट्रपतिमा निर्वाचित ट्रम्पले ५ करोड ९६ लाख ९२ हजार ९ सय ७४ (४७. ५० प्रतिशत) मात्र मत प्राप्त गरेका छन्। केही मत पत्र गन्न अझै बाँकी भए पनि हिलारीले धेरै प्रत्यक्ष मत पाउने पक्का-पक्की जस्तै छ।

    यसो हुनुको कारण, अमेरिकामा प्रत्यक्ष मत कसले धेरै पायो त्यो व्यक्ति राष्ट्रपति चुनिने होइन, कसले धेरै इलेक्टोरल कलेज प्राप्त गर्‍यो त्यो नै राष्ट्रपति चुनिन्छ।

    १६ वर्ष अघि सन् २००० को राष्ट्रपति निर्वाचनमा पनि डेमोक्र्याटिक पार्टीका उम्मेदवार एल गोरले रिपब्लिकन पार्टीका उम्मेदवार जर्ज बुशभन्दा धेरै प्रत्यक्ष मत प्राप्त गरे पनि बुश राष्ट्रपति निर्वाचित भएका थिए।

    के हो इलेक्टोरल कलेज? कसरी चुनिन्छन् अमेरिकन राष्ट्रपति?   

    अमेरिकाको प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर नियुक्त हुन्छन्। हाउसमा भने सो राज्यका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिएको हुन्छ। जस्तै अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाबाट हाउसमा ५३ जना चुनिन्छन्। हाउसमा चुनिने ५३ र सिनेटमा चुनिने दुई जना गरेर क्यालिफोर्नियाको ५५ इलेक्टोरल कलेज गनिन्छ। त्यस्तै दोस्रो ठूलो राज्य टेक्सासमा ३६ जना हाउसका सदस्य र २ जना सिनेटर गरेर ३८ इलेक्ट्रोल कलेज गनिन्छ। यस्तै अमेरिकाको सानो राज्य मेएनको जम्मा ४ इलेक्ट्रोल कलेज मात्रै (२ सिनेट र २ हाउस सदस्य) छ।

    प्रत्येक राज्यलाई इलेक्टोरल कलेज सो राज्यको जनसंख्या अनुसार केही घटबढ भइरहन्छ।

    सबै ५० राज्यको इलेक्टोरल कलेज जोड्दा जम्मा ५३८ हुन्छ। यही ५३८ मध्ये जसले ५० प्रतिशत भन्दा धेरै संख्या अर्थात २७० पुर्‍याउँछ, त्यो नै अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन्छ।

    त्यसैले अमेरिकाको राष्ट्रपतिका लागि कुन राज्यमा कसले जित्यो भन्ने छुट्टाउन मात्र प्रत्यक्ष मत गणना हुने गर्छ। कुनै पनि राज्यमा जसले  धेरै प्रत्यक्ष मत प्राप्त गर्‍यो, त्यो राज्यको सबै इलेक्टोरल कलेज जित्ने उम्मेद्‌वारले पाउँछ। हार्नेले एक इलेक्टोरल कलेज पनि पनि पाउदैन। जस्तै, यसपाली क्यालिफोर्निया जितेर क्लिन्टनले त्यहाँको ५५ इलेक्टोरल कलेज प्राप्त गरिन् भने ट्रम्पले फ्लोरिडा जितेर २९ मत प्राप्त गरे।

    अमेरिकाका दुई साना राज्यहरु मेएन (४ इलेक्टोरल कलेज) र नेब्रास्का (५ इलेक्टोरल कलेज)मा भने उम्मेद्वारले हाउसको निर्वचन क्षेत्रमा पाएको मतका आधारमा इटेक्टोरल कलेज बाढिन्छ। जस्तै यसपाली मेएनमा क्लिन्टनले ३ र ट्रम्पले १ इलेक्टोरल कलेज प्राप्त गरे।

    इलेक्टोरल कलेज मार्फत राष्ट्रपति चुनिने प्रणालीको अमेरिका भित्रै पनि आलोचना हुने गरेको छ। प्रत्यक्ष मत जसले धेरै पाउँछ त्यो नै राष्ट्रपति चुनिनु पर्ने आवाज अमेरिकामा यो भन्दा पहिले पनि उठेको हो।

    प्रायजसो जसले धेरै प्रत्यक्ष मत प्राप्त गर्यो त्यसले नै धेरै इलेक्टोरल कलेज पनि प्राप्त गर्ने गरेको छ। आजसम्म भएका ४५ वटा निर्वाचन मध्ये ५ निर्वाचन  (सन् २०१६, सन् २०००, १८८८, १८७६ र १८२४) मा एउटा उम्मेद्वारले धेरै प्रत्यक्ष मत र अर्को उम्मेदवारले धेरै इलेक्ट्रोरल कलेज प्राप्त गरेको छ।

    यो निर्वाचन प्रणाली सुधार गरेर जसले धेरै प्रत्यक्ष मत ल्याउँछ त्यो नै राष्ट्रपति चुनिने प्रणाली कायम गर्न अमेरिकाको हाउस अफ रिप्रेजेन्टिभले सन् १९६९ मा प्रस्ताव पारित गरेको थियो। तर, सिनेटले त्यो प्रस्ताव अस्वीकृत गरेपछि इलेक्टोरल कलेज मार्फत नै राष्ट्रपति चुन्ने प्रणाली कायम रह्यो।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal