७ दिन भित्र बिद्युतको नँया मिटर पाउने ब्यबस्था

नेपाल विद्युत प्राधिकरणले आफ्ना ग्राहकलाई सात दिनभित्र नयाँ मिटर दिने व्यवस्था गर्न निर्देशन दिएको छ । नयाँ मिटरको लागि आवेदन दिएका ग्राहकलाई लामो समय नकुराउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो । प्राधिकरणले ‘सिङ्गल फेज’को नयाँ मिटर सात दिनभित्रमा जडान गरिदिन र उपभोक्तालाई कुनै पनि प्रकारको दुःख नदिन निर्देशन दिएको छ । प्राधिकरणले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउन सिङ्गल फेजको मिटरका लागि निवेदन दिने ग्राहकको मिटर सात दिनभित्रमा जडान गरिदिने प्रतिबद्धतासमेत जनाएको छ । कहीँ कतै त्यस्तो व्यवस्था लागू नभएको पाइए कार्यकारी निर्देशक तथा क्षेत्रीय कार्यालयका प्रमुखलाई सम्पर्क गर्न समेत प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणका अधिकांश घरायसी ग्राहकले सिङ्गल फेज मिटर प्रयोग   गर्छन् । यसैगरी, थ्रि फेज र उद्योग तथा प्रतिष्ठानमा प्रयोग हुने ‘टिओडी’ नयाँ मिटर क्रमश ः १५ र ३० दिनभित्र उपलब्ध मात्रै गर्नेछैन, जडान नै गरिदिनुपर्ने व्यवस्था गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । मुलुकभर विद्युत्भार कटौतीको अन्त्यपछि प्राधिकरण विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिने लगायतका काममा केन्द्रित भएको छ । प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रीत भई क्षेत्रीय कार्यालय र त्यस अन्तर्गतका केन्द्र प्रमुखसँग धमाधम कार्यसम्पादन करार सम्झौता समेत गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस