असोज १ गतेदेखि सार्वजनिक सवारीका साधान सञ्चालनको तयारी

आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । 
सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला व्यवसायीले यस्तो घोषणा गरेका हुन् ।
बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पूजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दूरीका यातायात चलाउने घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईका अनुशार सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको छ ।
सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे आफूहरुले यातायात चलाउने जानकारी विभागलाई गराइएको उहाले बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यो निर्णय आफूहरुले गरेर नभई मन्त्रिपरिषदबाटै हुनुपर्ने बताउनुभयो । कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिने सुझाव आफूहरुले दिएको उहाले बताउनुभयो ।
यद्यपी यातायात सञ्चालन गर्दा सुरक्षाका सम्पूर्ण उपाय अवलम्वन गर्ने यातायात व्यसायीले बताएका छन्।
‘कोरोनाविरुद्ध सम्पूर्ण सुरक्षाका उपाय अपनाएरसार्वजनिक सवारीसाधन संचालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताउनुभयो ।
गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । साढे ५ महिनासम्म लामो दूरीका सवारीसाधन चल्न नसक्दा आफूहरु डिप्रेसनको स्थितिमा पुगेको व्यवसायी बताउदै आएका छन् । यसबीचमा मापदण्ड तोकेर केही दिन छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए । 
 

प्रतिकृया दिनुहोस