समाचार

    अनुमति बिना फोटो खिच्न नपाईने ऐन लागुहुदै

    दाङ,३० साउन
     
    आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले गोपनीयता विरुद्धको कामलाई कसुर घोषणा गर्दै कडा कारवाहीको व्यवस्था गरेको छ । ऐनमा अर्काको कुरा सुन्ने, रेकर्ड गर्ने र फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको छ । यो व्यवस्थाले प्रेस स्वतन्त्रता संकुचन हुन सक्ने भय मिडिया क्षेत्रमा देखिएको छ । नेपालको संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ । अर्थात व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनअनुसार बाहेक कसैले अतिक्रमण गर्न पाइने छैन ।संविधानको यही व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा मुलुकी संहिताले गोपनीयताको हक सम्बन्धी कानून बनाएको हो ।यस ऐनको दफा २९३ (१) मा लेखिएको छ ‘कसैले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीचमा भएका कुनै कुरा अधिकार प्राप्त अधिकारीको अनुमतिले वा त्यसरी कुरा गर्ने व्यक्तिहरुको मञ्जुरीविना कुनै यान्त्रिक उपकरणको प्रयोग गरेर सुन्न वा त्यस्तो कुराको ध्वनि अंकन गर्नु हुँदैन ।’दुई वा दुईभन्दा बढी व्यक्तिबीचको कुराकानीमा भाषण भने नपर्ने ऐनमा उल्लेख गरिएको छ । अरुको कुरा सुन्ने कसुर गर्ने र गराउने दुबैथरीलाई २ वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुबै हुने सजाय हुने व्यवस्था गरिएको छ ।कानुनले अब अनुमतिविना कसैको फोटो खिच्न पनि निषेध गरेको छ । कसैको फोटो खिच्न वा अरु फोटो जोड्न पनि कानुनले प्रतिबन्ध लगाएको छ । यस्तो कसुर गरेमा १ वर्ष कैद वा १० हजार जरिवाना गरिएको छ ।सार्वजनिक स्थानको फोटो खिच्दा कसैको फोटो देखिएमा भने कानुन नलाग्ने ऐनमा उल्लेख छ ।
    टेलिफोन वा फेसबु्कबाट धम्की दिनेलाई १ वर्ष कैद वा १० हजार जरिवानाको व्यवस्था गरिएको छ । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal