युरिया मलको अभावका कारण धान उत्पादन कमि आउन सक्ने

रोपेको २० देखि २५ दिन  भित्र धानमा युरिया मल हाल्नु पर्ने भएता पनि मल अभाव भएको छ ।
रासायनिक मलको अभाव हुदा किसानहरु बजारमा खोजीका लागि भौतारिने गरेका छन् । 
समयमै पानी परेका कारण राम्रो उत्पादन हुने आशा गरेका किसानको मन मल अभावका कारण निराश बन्दै गएका छन् ।
जिल्लामा यस बर्ष करिब ३५ सय हेक्टरमा धानखेति बढि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गत बर्ष ३७ हजार ७ सय १० हेक्टरमा भएको थियो । 
यस बर्ष समय मै पानी पर्नु र कोरोनाका कारणले बाहिर रहेका युवाहरु घर आएका कारणले पनि गत बर्षको तुलनामा यस बर्ष करिब ४१ हजार हेक्टरमा धान खेति भएको केन्द्रले जनाएको छ  । 
दाङका १० स्थानियतहमा करिब २२ हजार मेट्रिक टन रासायनिक मल आबश्यक पर्ने कृषि ज्ञान केन्द्रले बताएको छ ।
समय मै पानी पर्दा खेति राम्रो भएको भएता पनि अहिले मल नपाउँदा धान उत्पादनमा घट्ने चिन्ता लागेको शान्तिनगर २ अमुवाका किसान नेव बहादुर  खड्काले बताउनुभयो ।
विगतका बर्षहरुमा भन्दा यस बर्ष धान उत्पादनमा धेरै बृद्धि होला भन्ने लागेको थियो तर मल नपाउँदा धान नै नहुनेको कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।
अर्का किसान शेर बहादुर नेपालीले आफुले युरिया मल धान रोप्ने बेला पनि नपाएको र अहिले पनि नपाएको गुनासो गर्नुभयो । 
उहाँले मलको लागी वडा कार्यालय लगाएत विभिन्न ठाउँमा गएको भएता पनि नपाएको गुनासो गर्नुभयो ।
रोपेको २२ देखि २५ दिन भित्र मल धानमा हाल्नु पर्ने भएता महिना दिन सम्म मल नपाउँदा धान पहेलो हुदै गएको कृष्ण पौडेले बताउनुभयो । उहाँले सरकारले दिने अनुदानको मल त पाईदैन, तर बजारमा मंहगो मुल्य हालेर किन्न खोज्दा समेत नपाइएको गुनासो गर्नुभयो ।
अहिले किसानहरु मल नपाउँदा समस्यामा रहेको र कोरोना महामारीको कारण मल आउन ढिलाई भएको घोराहीमा रहेको कृषि सामाग्रीकी सुचना अधिकारी सुष्मा बस्यालले बताउनुभयो ।
त्यसैगरी अर्का किसान नारायण बुढाथोकीले भने मल नपाउँदा किसानहरु मर्कामा परेको उनले बताउनुभयो । उनले अनुदानमा युरियालाई १ हजार पर्ने र बजारमा २४ सय सम्म मुल्य रहेको भएता पनि नपाउँदा किसानहरुलाई  समस्या भएको उहाँले बताउनुभयो ।
 घोराही २ रामपुरका किसानहरुले मल नपाएको भन्दै केही दिन अगाडी हेलो जुवा बोकेर वडा कार्यालयमा पुगेर आन्दोलन गरेका थिए । स्थानिय शेर बहादुर चौधरीले राज्यले दिन अनुदान समेत नपाएको गुनासो गर्नुभयो । 
उहाँले अहिले धानमा युरिया मल पट गर्ने बेला नपाउँदा आफुहरु चिन्तिभएको बताउनुभयो ।
जिल्लामा कृषि सामाग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । 
सामाग्रीले ७० प्रतिसत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन् । दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्रि गर्ने गर्दछ भने साल्ट ट्रेनिङले घोराही क्षेत्रका लागि मात्र बिक्रि गर्ने गरेको छ । 
सामाग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिले सम्म आएको छैन् ।  
भदौको पहिलो साता भित्र मल आउन सक्ने सामाग्रीले जनाएको छ । 

प्रतिकृया दिनुहोस