दाङका थारू समुदायले अष्टिम्की पर्व मनाउदै 

दांगदेखि कञ्चनपुरसम्मका थारू समुदायले आज हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्। अष्टिम्की पर्व दुई दिन मनाइन्छ। यो पर्व महिलाले मनाउँछन्। उनीहरू अघिल्लो राति दर खाई भोलिपल्ट दिनभर व्रत बस्छन्। ब्रतालु महिलाले साँझपख घरको भित्तामा विभिन्न पौराणिक चित्र कोरेर पूजा गर्छन्। पूजा सकिएपछि प्रसादका रूपमा फलफूल बाँडेर खाने चलन छ। अष्टिम्कीको उत्पत्ति ‘अष्टमी–टीका’ बाट भएको कथन छ। श्रीकृष्णलाई थारु भाषामा ‘कान्हा’ भनिन्छ। अष्टिम्की’ को अर्थ भदौको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेको खुसीयालीमा टीका लगाउनु हो। अष्टिम्कीका दिन भित्तामा ‘कान्हा’ को जीवनीमा आधारित चित्र कोरेर पूजा गरिन्छ ।

यसरी मनाइन्छ अष्टिम्की
ब्रतालु महिलाले बिहानैदेखि गाउँको भलमन्साको घरको बहरी अर्थात् बैठक कोठाको उत्तरपट्टिको भित्तामा लिपपोत गर्छन्। श्रीकृष्ण भगवानको चित्रलाई सजाउँछन्। श्रीकृष्णको दाहिनेपट्टि सूर्य र देब्रेतिर चन्द्रमाको चित्र बनाइन्छ। दोस्रो लाइनमा पाँच पाण्डवको चित्र बनाइन्छ। तेस्रो भागमा डोली, माछा, गंगटा, बाघ, हात्ती, मयूर, सर्प, बिच्छी, गाईलगायत विभिन्न चरा र जनावरको चित्र कोर्ने चलन छ। श्रीकृष्णको जीवनमा आधारित चित्र सजाइसकेपछि गाउँभरका महिला परम्परागत पहिरनमा सजिएर लामबद्ध भई पूजामा सहभागी हुने थारू वुद्धिजीवी वताउछन्। व्रतालु महिलाले प्रसादका रुपमा काँक्रो, कुन्द्रु, अम्बा लगायत फलफूल चढाउँछन्। पूजापछि प्रसादका रूपमा बाँडेर खाने गरिन्छ।
त्यही पूजा कोठामा रातभर पृथ्वीको उत्पत्ति, श्रीकृष्ण जन्म र लीला समेटिएको गीत गाउने प्रचलन छ।  घरमा ब्रतालु महिलाका परिवारजनले भात, खरिया, फुलौरी, माछाको सुकुटी, तरकारी, आचारलगायत विभिन्न परिकार बनाएर तयार पारेका हुन्छन्। ब्रतालुले ती परिकारको आधा भाग खानुभन्दा पहिलै टपरी तथा दुनामा छुट्याएर राख्छन्। यसलाई थारू समुदायमा फरहार भनिन्छ। फरहार विवाहित चेलीबेटीलाई अग्रासनका रुपमा दिन जाने प्रचलन छ।

प्रतिकृया दिनुहोस