काग्रेसमा क्रियाशील सदस्यताको चटारो

नेपाली काँग्रेसले आगामी १४औँ महाधिवेशन प्रारम्भिक तयारीलाई अगाडि बढाउने क्रममा क्रियाशील सदस्यताको चटारो सुरु भएको छ । वडा तहमा क्रियाशील सदस्यता वितरण अभियानलाई अगाडि बढाएसँगै यो चटारो सुरु भएको हो । 
यस अधिवेशनको क्रममा थप साढे दुई लाख नयाँ क्रियाशील सदस्य बनाउने काँग्रेसको योजना छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समायोजन सकिएका जिल्लामा पार्टीको क्रियाशील सदस्यताको फाराम वितरण गर्ने कार्य वडा तहमा धमाधम भइरहेको जानकारी दिनुभयो । 
कोरोना भाइरसको उच्च जोखिम रहेका स्थानमा सदस्यता फाराम वितरणमा समस्या भए पनि अन्य स्थानमा क्रियाशील सदस्यता वितरणको कार्य तीव्र गतिमा भइरहेको छ ।
काँग्रेसले २०७६ फागुन १३ मा जिल्ला सभापतिहरूलाई पठाएको क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी परिपत्रमा १३औँ महाधिवेशनमा कायम कुल क्रियाशील सदस्यको ५० प्रतिशतसम्म थप्न सकिने उल्लेख छ । 
यसरी ५० प्रतिशत थप्ने हो भने काँग्रेसका नयाँ क्रियाशील सदस्य करिब दुई लाख ५७ हजार थपिने छन् । 
स्थानीय तहमा हाल कायम ६ हजार ७४३ वडामा क्रियाशील सदस्यता वितरण गर्नुपर्ने हुन्छ । 
गाउँपालिकाका वडामा कम्तीमा ४२ जना क्रियाशील सदस्य बनाउनुपर्ने प्रावधान छ ।
त्यस्तै नगरको वडामा ४७, महानगरको वडामा ६० सदस्य कम्तीमा हुनुपर्ने छ । त्यो सङ्ख्या पुगेको छैन भने त्यहाँ ५० प्रतिशत थपको नियम लागू हुने छैन । 

प्रतिकृया दिनुहोस