पहिरोको कारण २ जनाको मृत्यु

दाङको बिकट गाउँपालिका बङगलाचुलीमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ साकिने भन्ने स्थानमा बुधबार बिहान करीव ३ बजेतिर घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो । घरमाथिबाट खसेको पहिरोले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उहाँकी २ वर्षीया छोरी आयुष्मा नेपालीको ज्यान गएको गाउँपालिका अध्यक्ष वलीले बताउनुभयो । तर परिवारका अन्य ३ जना भने सकुशल रहेका छन् । सो घरमा बाटुलीका सासु, ससुरा र जेठाजु बस्नु हुन्थ्यो ।
भुईतला मात्रै रहेको सो घरको उत्तर तर्फ सुतेका आमा छोरीको ज्यान जाँदा दक्षिण तर्फ सुतेका अन्य ३ जना भने बाँच्न सफल भएका छन् । मृतकका श्रीमानको केही समय अघि मृत्यु भईसकेको छ ।
मृतकको शव पुरिएको स्थानबाट निकालिएको छ । पहिरो पीडित परिवारलाई अहिले सुरक्षित स्थानमा लगेर राखिएको छ ।
जिल्लाको घोराही बजारबाट करीव ३७ किलोमिटर पूर्व उत्तरमा सो घटना भएको हो । बंगलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
यसैबिच बंगलाचुली गाउँपालिका वडा नम्बर ७ ढावाका अधिकांश बस्ती पहिरोको जोखिममा परेपछि त्यहाँ बस्दै आएका १४ परिवार बिस्थापित भएका छन् ।
वर्षाका कारण जमीनबाट पानीको मुल फुट्न थालेपछि माटो बगाउने, घरमाथिको ढिस्को तल झर्न थालेपछि घर नै उच्च जोखिममा परेपछि स्थानीय सो ठाउँ छाडेर अन्यत्र बस्न बाध्य भएका छन् । गाउँपालिका अध्यक्ष वलीका अनुसार वडा नम्बर ७ को ढावाका १४ परिवारलाई सो स्थानबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो । ती परिवारका केही सदस्यलाई सामुदायिक विद्यालयमा र केहीलाई अन्य सार्वजनिक भवनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस