१४ वटा क्वारेन्टाईन मात्र सञ्चालन

दाङका १० स्थानीय तहहरुमध्ये ८ वटा स्थानीय तहका १४ स्थानमा हाल क्वारेन्टाइनहरु सञ्चालनमा छन् ।
जिल्ला आपतकालीन केन्द्र दाङका अनुसार २ सय ३ वटा क्वारेन्टाइनमध्ये दाङमा हाल १४ वटा क्वारेन्टाइनहरु मात्र सञ्चालनमा रहेका हुन् । भारत र तेस्रो मुलुकबाट जिल्लामा मानिसहरु आउन थालेपछि जिल्ल आपतकालीन केन्द्रको बैठकले प्रत्येक पालिकामा २ सय बेडका क्वारेन्टाईन अनिवार्य बनाउने निर्णय भएको थियो । सोही अनूरुप दाङमा १० हजार २ सय बेडका क्वारेन्टाईन बनाएको थियो । आईसोलेसन र क्वारेन्टाईन बनाउने कार्य तिव्र पारिएको थियो । 
ती क्वारेन्टाईनमा शुरुका दिनमा झण्डै ६ हजार जनालाई राखिएको थियो । तर पछिल्लो अबस्थामा राप्ती गाउँपालिकामा ४ वटा, तुलसीपुर उपमहानगरपालिकामा ३ स्थान,लमही नगरपालिकामा २ स्थान, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दंगीशरण गाउँपालिकाको १÷१ स्थानमा क्वारेन्टाइनहरुमा मात्र मानिसहरु बस्ने गरेका छन् । ती क्वारेन्टाइनमा २ सय १७ जना छन् । 
उनीहरुमध्ये २३ जना महिला र १ सय ९४ जना पुरुषहरु रहेका छन् । 
जिल्लाका दशवटा स्थानीय तहहरुमध्ये सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा १ सय २६ जना रहेका छन् । जसमा १ सय ६ जना पुरुष र २० जना महिला रहेका छन् ।
राजपुर गाउँपालिकामा २५ जना पुरुष,राप्ती गाउँपालिकामा १० जना पुरुप र एकजना महिला गरी ११ जना, दंगीशरण गाउँपालिकामा र बबई गाउँपालिकामा ७÷७ जना पुरुष, लमही नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरी ८ जना र शान्तिनगर गाउँपालिकामा ३ जना पुरुषहरु क्वारेन्टाइनमा बस्दै आएका छन् । 
उनीहरु भारत लगायत तेश्रो मुलुकबाट घर फर्किएकाहरु हुन् । 
दाङमा कोरोना संक्रमित ६ सय ४४ जनामध्ये ६ सय १० जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना विशेष अस्पताल बेलझुण्डी, देउखुरी आइसोलेसन सेन्टर लालमटिया, घोराही आइसोलेसन सेन्टरलगायतका ठाउँबाट सोमवारसम्म ६ सय १० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका हुन् ।
सरकारले एकपटक पोजेटिभ रिपोर्ट आएर लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टाइनमा राखेपछि दोस्रो पटक परीक्षणविनै घर पठाउन निर्देशिका जारी गरेसँगै क्वारेन्टाइन र आइसोलेसन खालि हुँदै आएका हुन् । उपचारपछि घर फर्किनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका २ सय ६२ जना रहेका छन् । 
त्यसैगरी बंगलाचुली गाउँपालिकाका १ सय ५७ जना, तुलसीपुर उपमहानगरपालिकाका ४९ जना, लमही नगरपालिकाका २४ जना, गढवा गाउँपालिका ३५ जना, राजपुर गाउँपालिकाका १६ जना, राप्ती गाउँपालिकाका १९ जना रहेका छन् । 
दंगीशरण गाउँपालिका ३ जना, बबई गाउँपालिका २० जना र शान्तिगर गाउँपालिका १५ जना कोरोना संक्रमित उपचारपछि घर फर्किका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।
संक्रमितहरुमध्ये दाङमा अब ३६ जनाको उपचार भइरहेको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा १८ जना र देउखुरी आइसोलेसन सेन्टर लालमटियामा १८ जनाको उपचार भइरहेको छ । एकजनालाई कोरोना विशेष अस्पताल बेलझुण्डीबाट उपचारका लागि बुटवल रिफर गरिएको छ ।
 

प्रतिकृया दिनुहोस