सलहको एउटा झुण्ड फेरि दाङ छिर्यो, पहिलेको भन्दा बढी क्षति गर्ने अनुमान

सलहको एउटा झुण्ड फेरी नेपाल प्रवेश गरेकाले सतर्क रहन किसानलाई सरकारले सचेत गराएको छ। बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड पुनः दाङको गढवा गाउँपालिकाको २ र ३ नम्बर वडा प्रवेश गरेको प्वान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको र कृषकले विभिन्न अवरोधहरु सिर्जना गरी बस्न नदिएपछि उत्तर पूर्वतर्फ लागेको केन्द्रले जारी गरेको सूचनामा उल्खेख छ। अहिले नेपाल प्रवेश गरेको सलहले ठूलो नोक्सानी गर्न सक्ने किट वैज्ञानिकहरुको चेतावनी छ।

कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक सुदीप उपाध्याले पहिले आएको सलह भन्दा अहिलेकोले धेरै क्षति गर्ने बताए। उनले पहिला झुण्डबाट टुक्रिएर सलह आएको भएपनि अहिले नेपालमा एउटा झुण्ड नै प्रवेश गरेको उनले बताए। ‘यसबार पूर्वानुमान गर्ने कुरा हो। त्यसले के भन्न सकिन्छ भने अहिले झुण्ड नै आएकाले सलहले ठूलो विनास निम्ताउन सक्छ,’ उनले भने।

हाल नेपाल प्रवेश गरेको सलहले प्यूठान, अर्घाखाँची लगायतका जिल्लाहरुमा नोक्सान गर्न सक्ने सम्भावना छ। थप झुण्डहरु समेत आउन सक्ने सम्भावना रहेकोले प्रदेश नम्बर ५, २ तथा १ का तराई र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ। उपाध्यायका अनुसार एउटा झुण्डमा पाँचदेखि सात करोड सलहको संख्या हुन्छ। तर, नेपालमा कति संख्यामा सलह आए भन्ने यकिन भने भइसकेको छैन। नेपालमा यसअघि पनि सलह आएका थिए।

नेपालमा आएका सलहले प्रजननका लागि अनुकुलता नपाएपछि नष्ट भएर तथा केही फर्किएर गएका थिए। हावाको दिशामा सलह आउने नआउने निर्धारण हुने विज्ञहरुले बताएका छन्। सरकारले हिजो नै मौसमको अनुकुलताका कारण नेपालमा फेरि पनि सलह आउन सक्ने भन्दै सचेत गराएको थियो।

प्रतिकृया दिनुहोस