दाङमा पिसिआर टेष्टका लागि किटको अभाव हुदै

दाङमा किटको अभाब हुदा कोरोना भाईसर संक्रमणको परिक्षण सुस्त भएको छ । उपलब्ध गराएको पीसिआर टेष्टको किट समेत आज बुधबार सम्म मात्र पुग्ने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ । किट र मेसीनको अभाबका कारण पीसिआर टेष्टमा ढिलाई हुदा एक महिना दिनसम्म क्वारेन्टिनमा बसेका ब्यक्तिहरुले आक्रोस पोख्दै आएका छन् । दाङ, सल्यान, रोल्पा, प्यूठान, रुकुम,बाँके, बर्दिया,अर्घाखाची र कपिलवस्तु जिल्लासम्मका नागरिकको स्वाब परीक्षण राप्ती स्वास्थ्य प्रतिष्ठानबाट गर्ने गरिएको छ । तर झण्डै २ महिना सम्म एउटै मेशिन स्वाव टेष्ट गर्दा दैनिक तीन सयको हाराहारीमा हुने गरेकोमा थप अर्को मेशिन भित्रिएपछि दिनमा हजारको हाराहारीमा स्वाब संकलनको लक्ष्य प्रतिष्ठानले पुरा गरिरहेको छ ।

परीक्षणका लागि मेशिन जडान गरेपछि परीक्षणका लागि चाहिने किटको अभाव भने यथावतै छ । दुईवटा मेशिन जडान भएपनि किट समस्याका कारण परीक्षणको गती प्रतिष्ठानले बढाउन सक्ने अवस्था देखिन्न प्रतिष्ठान श्रोतले बताएको छ । केहि दिन अघि मात्रै पनि किटको अभाव हुँदा परीक्षण रोकिने अवस्थामा थियो । प्रतिष्ठानले १० हजार किट उपलब्ध गराउन सरकारसँग माग गरेकामा दुई हजार किट मात्रै उपलब्ध भएको छ । प्रतिष्ठानका अनुसार अबको एक दिनमात्रै परीक्षणका लागि प्रतिष्ठान संग किट उपलब्ध छ । 
प्रतिष्ठानले क्वारेन्टिनमा बसेका सबै नागरिकहरुको स्वाब परीक्षणका लागि तदारुकता देखाएको भएपनि सरकारले कोरोना परिक्षणका लागि आवश्यक किट उपलब्ध नगराउँदा समस्या भएको दाबी गरेको छ ।  यता दुइवटै पिसिआर मेसिनको झन्डै एक करोड रुपैया भुक्तानी हुन सकेको छैन भने पटक पटक किट माग गर्दा नपाएको प्रतिष्ठानले गुनासो गर्दै आएको छ । प्रतिष्ठानले पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा चार महिनादेखि अस्पतालले कुनै आम्दानी गर्न सकेको छैन । केहि महिना यता अस्पतालले आम्दानी नगर्दा चिकित्सक, नर्श र कर्मचारीलाई तलब खुवाउन समस्या भएको प्रतिष्ठानको भनाइ छ । जिल्ला बिपद समितिमा करोडौ रुपैया मौजाद छ । तर प्रतिष्ठानले एकरुपैया सहयोग नपाएको गुनासो गरीएको छ । अपेक्षित बजेट आएमा अस्पताले थप प्रभाबकारी सेवा दिने प्रतिष्ठानले पटक पटक बताउदै आएको छ । 

दाङ संक्रमणको संख्या औसतमा १८ जना
दाङमा दैनिक १७ देखि २० जन कोरोनाका नयाँ बिरामी थपिने गरेका छन् । मंलबार सम्म जिल्लामा ३०४ जनामा संक्रमण पुष्टि भएका छन् । निको भएर फर्कनेको पनि संख्या ९३ जना पुगेको छ ।
जिल्लाका नौ स्थानीय तहमा संक्रमण देखिएको छ । अहिलेसम्म दंगिशरण गाउँपालिकाबाहेक सबै स्थानीयमा  संक्रमणको प्रभाव देखिएको छ । संक्रमणको प्रभाव सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा देखिएको छ । कुलसंक्रमित मध्ये झण्डै आधा संक्रमित घोराही उपमहानगरमा मात्रै रहेका छन् । घोराही उपमहानगरपालिकामा पछिल्लो तथ्यांक अनुसार १४५ जनामा संक्रमण देखिएको छ । बंगलाचुली दोस्रोमा रहेको छ । बंगलाचुलीमा अहिलेसम्म ८८ जनामा संक्रमण देखा परेको छ । तुलसीपुर र गढवामा १५÷१५, राप्तीमा १३, लमहीमा ११, राजपुरमा ७, बबईमा ३ र शान्तिनगरमा १ जनामा संक्रमण देखिएको छ । तथ्यांक अनुसार जिल्लामा अहिलेसम्म ५ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ । दाङको मंगलबार बेलुकाको तथ्यांक अनुसार २ हजार ६ सय ६८ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको छ । 
 

प्रतिकृया दिनुहोस