दाङको सिमामा सुरक्षा अधिकारीको अनुगमन

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको नेतृत्वमा रहेको सुरक्षा अधिकारी र बिषयगत कार्यालयका प्रमुखहरुको टोलीले सिमा क्षेत्रको सुरक्षाको अवस्थाको अध्ययन अनुगमन गरेको छ । दाङको ८३ किलोमिटर सिमा क्षेत्रको सुरक्षा गर्न पछिल्लो समय सशस्त्र प्रहरी परिचालन गरिएको छ । सुक्षाकर्मीको उपस्थिती बढेपछी नागरिकमा परेको प्रभाव र प्रतिक्रिया जान्नको लागी अनुगमन गरिएको हो । राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका क्षेत्रको अनुगमन गरिएको छ। सिमा सुरक्षाको लागी सुरक्षाकर्मीहरुको उपस्थिती बढ्दा सिमा क्षेत्रमा हुने अपराध र सिमा स्तम्भको सुरक्षा भएको अनुभुती नागरिकले गरेका छन् ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सशस्त्र प्रहरी वल नेपाल २९ नम्बर गण हेड क्वाटर ज्वालामाई दाङका एसपी नारायण श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्द, राष्ट्रिय अनुसन्धान विभागका एसपी टेकराज तिमिल्सीना, नेपाली सेना १९ नम्बर बाहिनीका सहायक बाहिनिपती अनिल सिंह, रिपुमर्दन गण घोराहीका गणपती सुमन थापा, स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोख्रेल लगायतको उपस्थिती रहेको थियो।

३१ ओटा नाका मध्ये ११ ठाउँमा सशस्त्र प्रहरी

कोरोना भाइरसको संक्रमण हुनुअघी सिमित ठाउँमा रहेको नेपाल सशस्त्र प्रहरीको सिमा प्रहरी चौकी अहिले ११ ठाउँमा विस्तारमा भइसकेको छ। कोइलावास, खांग्रा, भैंसाही, सुनपथरी, डगमारा, भौवा, मुसीनाका, गुरुङ्ग नाका, पटौली, भौरीसाल, खबरी नाकामा सशस्त्र प्रहरी वल नेपालको विओपी वोर्डर आउट पोष्ट छ। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाकावासीले सुरक्षाको अनुभुति गर्न पाएका छन्।
नाका क्षेत्रमा वसोपवास गर्ने हरेक नेपाली भारतमा परनिर्भर हुनुपर्ने बाध्यता छ। तर, अहिले कोरोना भाइरसका कारणले गर्दा सिमामा आवत जावत पूर्ण रुपले वन्द छ। यस अघी किनमेल गर्न जाँदा पनि भारतीय सुरक्षाकर्मी र त्यहाँका व्यापारीले दुव्र्यवहार गर्ने गरेको, गरिब भनेर हेप्ने गरेको स्थानीयहरुको अनुभव छ । ३१ ओटा नाका क्षेत्रमा १९ नाकामा सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्ने योजना रहेको र बाँकी ८ ओटा नाकामा स्थापनाको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। 'सिमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती बढेको छ। सिमा क्षेत्रमा हुने अपराध न्यूनिकरण र सिमा स्तम्भको रक्षाको लागी सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालले भने '३१ ओटा नाका मध्ये हामी ११ ठाउँमा पुगीसकेका छौं । बाँकी ८ स्थानमा राख्ने तयारी छ।’

प्रतिकृया दिनुहोस