रुपन्देहीमा एक महिला सहित ५ जनाको हत्या 

तुलसीपुर, २७ जेठ ।  रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा  एक महिला सहित ५ जना  हत्या भएको छ । सोही गाउँमा रहेको पशु फाममा काम गर्दै आएका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिँजालीले एक महिलासहित ५ जनाको हत्या गरेको प्रहरीको आशंका छ   ।  प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकले हत्यामा संलग्नको आशंकामा युवकलाई पक्राउ गरिएको जानकारी दिए । हत्या गरिएका ५ जना पनि झसेन्द्रसँगै सोही पशु फाममा काम गर्दै आएका थिए ।

डीआईजी धानुकका अनुसार हत्या गरिएकी महिलामाथी बलात्कारको प्रयास भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। मारिएका माधव(४० वर्ष) र जानकी(३७) श्रीमान-श्रीमती हुन् भने पोसराज (१४ वर्ष) अनाथ भएकाले फर्मका संचालक कृष्ण बहादुर पुनले मुसहर दम्पतीलाई पाल्न दिएका थिए । 

यस्तै घटनामा मारिएका करूण र आशिषको उमेर १७ वर्ष रहेको छ।करूण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन्। कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो। घटनामा संलग्न भएका आशंकामा सुर्खेतका झसेन्द्र सिजांली(३२ वर्ष) पनि सोही फर्ममा काम गर्ने कामदार हुन्।

प्रतिकृया दिनुहोस