क्वारेन्टीनलाई मापदण्ड अनुसार व्यवस्थित बनाउन प्रदेश ५ मुख्यमन्त्रीका नाममा अन्तरिम आदेश

तुलसीपुर, २३ जेठ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले क्वारेन्टीनलाई मापदण्ड अनुसार बनाउन मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रदेश सरकारका नाममा आदेश जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर परेको रिटमा न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले कोरोना सम्बन्धी क्वारेन्टीन मापदण्ड अनुसार हुनुपर्नेमा कुनै द्विविधा नभएकाले त्यसअनुसार गर्न अन्तरिम आदेश दिएको हो । मुख्यमन्त्री पोखरेलसहित विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन समेत अदालतले आदेश दिएको छ ।
प्रदेशभित्रका क्वारेन्टाइनहरू मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिका–५ का सुनीलकुमार चौहान र कृष्णनगर नगरपालिका–६ का अरुणेश कुमार उपाध्यायले बुटवल इजलासमा रिट निवेदन दर्ता गराएकामा प्रदेश ५ सरकारका नाममा आदलतले यस्तो आदेश जारी गरेको हो । रिटमा मुख्यमन्त्री कार्यालय सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही, जिल्ला प्रशासन कपिलवस्तु तथा दुबै जिल्लाका १० स्थानीय तहलाई पनि विपक्षी बनाइएको थियो । सुक्रवार भएको अन्तरिम आदेश स्वागतयोग्य रहेको रिट मस्यौदाकार अधिवक्ता शैलेन्द्र अम्बेडकरले वताए । 
 

प्रतिकृया दिनुहोस