रुकुम घटना : अनुसन्धानका लागि सिआइवी र मानवअधिकार टोलि घटनास्थलमा 

रुकुम पश्चिममा दलित र गैह्र दलितबीचको प्रेम सम्बन्ध तथा त्यसबाट कम्तीमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्राविधिक टोली त्यसतर्फ गएको छ । सीआईबीको टोलीले घटनाको प्राविधिक पक्षलाई केलाएर अनुसन्धानमा सहयोग गर्ने छ । 

जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर एक साता अघि रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए । समूह आएलगत्तै युवतीका परिवार, गाउँलेहरु जम्मा गरी उनीहरुविरुद्ध आक्रमणमा उत्रिएका थिए । घटनापछि युवक पक्षका ६ जना बेपत्ता भएकामा नवराजसहित पाँच जनाको शव भेरी नदीमा भेटिएको थियो । एक जना अझै बेपत्ता छन् । युवक पक्षका बाँचेका र आफन्तले सोतीका गाउँलेले मारेर खोलामा फ्याँकेको दावी गर्दै आएका छन् ।

तर सोतीका गाउँलेहरुको भने युवकहरु आफै भेरी नदीमा हाम फालेको र बेपत्ता भएको दावी छ । प्रहरीले सोती गाउँका युवती, उनका बाबुआमा र वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरिसकेको छ । घटनामा २० जनाविरुद्ध किटानी जाहेरी परेको छ । यो घटनाले संघीय संसददेखी राजधानीका सडकहरु सातायता तातेका छन् । जातिय छुवाछुत र भेदभावका कारण घटना भएको भन्दै चौतर्फ विरोध भइरहेको छ ।

यता अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको घटनाको अनुगमन तथा अनुसन्धानका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । नेपालगञ्ज स्थीत आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो । टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर अध्ययन गर्नेछ ।

यही जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक मल्ल थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ गएका थिए । तर दुई पक्षबीच झडप भएपछि भागाभाग भयो । केहीले ज्यान जोगाउन भेरी नदीमा हामफाले । घटनामा नवराज विक सहित पाँच जनाको मृत्यु भयो भने एक जना अझै वेपत्ता छन् । पीडित पक्षको किटानी जाहेरीको आधारमा प्रहरीले केटी पक्षका केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस