ताजा खबर :

समाचार

    विप्लप र सिकेको अभिब्यक्तिमाथि पहाडीको ध्यानाकर्षण

    दाङ,२३ पुस
     
    मानवअधिकारवादी कृष्ण पहाडीले आज आइतबार सिके राउत र नेत्रविक्रम चन्दको विरोध गर्दै एउटा प्रेस विज्ञप्ति नै जारी गरि चन्द र राउतको अभिव्यक्तिमाथि आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
    पहाडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘म विनम्रताका साथ विप्लवलाई स्मरण गराउँछु, मेरो एउटा लेख वा विचारले तपाई यति आक्रोशित हुनुभएको छ भने तपाईहरुले पड्काउनुभएको बम र हिंस्रक गतिविधिले कति नागरिकको मन हाहाकार गरेको छ, कति बा आमाहरु रुनुभएको छ, कृपया तिनीहरुको चित्कार सुन्नुहोस् ।’पहाडीले विप्लवलाई थप सुझाव दिँदै भन्नुभएको छ,‘आफ्नो अन्तरआत्मालाई घच्घच्याउनुहोस् । तपाईहरुको उर्जाको यो देशलाई खाँचो छ,आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस् । तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस् ।’पहाडीद्धारा जारि बिज्ञप्तीमा भनिएको   छ । गत मंसिर २४ गते एउटा दैनिक पत्रिकामा मानवअधिकारकर्मी पहाडीले ‘मतदानद्वारा हिंसाको खारेज’ शीर्षकमा एउटा लेख लेख्नुभएको थियो । लेखमा विप्लवको हिंसात्मक राजनीतिको आलोचना गरिएको थियो ।पहाडीको लेखको जवाफमा एउटा अनलाइनमा नेत्रविक्रम चन्दले लेख्दै,‘पहाडीको ओछ्यान मुनि बम पड्काउने अवस्था नआउला भन्न सकिन्न’ भन्दै चेतावनी दिनुभएको छ । विप्लवको यही धम्कीपछि पहाडीले आज आइतबार प्रेस वक्तव्य जारी गर्नुएको छ । पहाडीले सिके राउतको समेत आलोचना गर्नुभएको छ । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal